जनकपुरधाम : मिथिला मध्यमा परिक्रमा विहीबारदेखि प्रारम्भ भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका कचुरीमा रहेको मठबाट मिथिला बिहारीको डोला बाजागाजा तथा सयौं परिक्रमा यात्रीका साथ विहीबार जनकपुर आएसंगै मध्यमा परिक्रमा प्रारम्भ भएको हो ।

जनकपुरधाम स्थित अग्निकुण्डबाट किशोरीजी अर्थात माता जानकीको डोला र मिथिला बिहारी अर्थात भगवान रामको डोलासँगै १५ दिनसम्म परिक्रमा चल्नेछ । नेपालकै सबैभन्दा लामो दूरीको १५ दिने मिथिला मध्यमा परिक्रमा अन्र्तगत नेपाल र भारतको विभिन्न ठाउँका श्रद्धालु भक्तजनहरु घरबाटै भोजन र वासको व्यवस्थाका साथ परिक्रममा सहभागी हुने गरेका छन् ।

विहीबार कचुरीबाट निस्केको परिक्रमाका यात्रीहरु जनकपुरधामको हनुमाननगरमा रहेको हनुमानगढीमा विश्राम गर्ने परम्परा रहिआएको छ । फागुन शुक्ल औंसीको दिन कचुरीबाट निकालिएको डोला हनुमानगढीमा विश्राम गरेर शुक्रबार भारतको कल्याणेश्वर पुगेर परिक्रमाको लागि संकल्प लिइ अगाडि बढेपछि मिथिला मध्यमा परिक्रमाको औपचारिक सुरुवात भएको मानिन्छ ।

नेपालको विभिन्न भागको १ सय ७ किलोमिटर र भारतको २६ किलोमिटर गरी जम्मा १ सय ३३ किलोमिटरको यस परिक्रमा यात्रामा नेपाल भारतका सयौं यात्रीहरु स्वःस्फूर्त रुपमा सहभागी हुने गरेका छन् ।

mithila_parikram_nepalvani1

पछिल्लो दुई वर्षदेखि कोरोना भाइरसको कारण मिथिला मध्यमा परिक्रमा नराम्ररी प्रभावित हुँदै आएको थियो । मिथिला मध्यमा परिक्रमा जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मटियानी , जलेश्वर, मडै, ध्रुबकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्ने जनाइएको छ । पुनः भारतको करुणा, विसौल लगायतका धार्मिक स्थल हुँदै १४ औं दिनमा जनकपुरधाम पुगेर अन्र्तगृह परिक्रमा पश्चात समापन हुने गरेको छ । त्रेता युगमा भगवान राम तथा माता सीताले होली खेलेको स्मरणमा कञ्चनवनमा विशेष होली महोत्सवको आयोजना हुने गरेको छ । मिथिला महात्ममा उल्लेख भए अनुसार मिथिलामा वृहत, मध्यमा र अन्तगृह सहित तीनवटा परिक्रमा हुने गर्छ ।