जनकपुर, चैत्र १६
धनुषाको शहिदनगर नगरपालिकामा डेढ दशक अघि सुविधासम्पन्न अस्पतालका लागि भवन निर्माण गरियो । तर १५ वर्ष वितिसक्दा पनि न त अस्पताल नै सञ्चालनमा आयो । न त सरोकारवालले यस तर्फ चासो दिएको देखियो ।
धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ८ स्थित डुमारियाको डेढ दशक पहिले निर्माण भएको अस्पतालको लागि आलिसान भवन निर्माण गरिएको थियो ।
अस्पताल निर्माण भएको डेढ दशक पुगे पनि राजनीतिक खिचातानीका कारण अझै सञ्चालनमा हुन सकेको छैन ।
वि.सं. २०६३ असोज ४ गते तत्कालीन स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले शहिद सूर्यनाथ रानको नाममा अस्पताल बनाउने घोषणा गरेका थिए । मन्त्री पोखरेलले शहिद रानको स्मृतिसभामा सहभागी हुन पुगेको थियो । घोषणा भएकै वर्षदेखि निर्माण सुरु भएको स्थानीय सिवेन्द्र रोहिताले बताए । तर, राजनीतिक खिचातानीका कारण अझै सञ्चालनमा आउन सकेको छैन । यति सुविधासम्पन्न भवन अहिले संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । कतिपय कोठाको सिसाको झ्याल र काठको ढोकासमेत फोडिसकेको छ ।
२÷३ वटा कोठामा त मानिस दिसा नै गरेर दुर्गन्धित बनाइसकेको छ । अहिले यो भवन सरकारको वेवास्ता र राजनीतिक उतारचढावका कारण अलपत्र बनेको छ । भवनको रेखदेख गर्न कुनै निकायले चासो नलिँदा अपराधको अखडासमेत बनेका छ । स्थानीय युवा त्यहाँ गाँजा खान पुग्ने गरेको स्थानीयको भनाइ छ ।
२०६३ असोज ४ गते तत्कालीन स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल धनुषाको डुमारिया पुगे । मन्त्री पोखरेल शहिद सूर्यनाथ रानको स्मृति दिवसमा सरिक हुने पुगेको थियो । जनकपुरधामबाट २५ किलो मिटरको दूरीमा रहेको डुमरीयामा त्यति बेला अस्पताल अभावमा स्थानीयलाई निकै सास्ती भइरहेको थियो । उपचार अभावमा कति मानिसले ज्यानसमेत गुमाइरहेका थिए । स्मृति दिवसको दिन पनि स्थानीय आफ्ना समस्या र नेता रानलाई सम्झेर भावुक थिए । तर, मन्त्री पोखरेलले जनताको समस्या र स्वर्गिय नेता रानको योगदानलाई मध्यनजर गर्दै उनको मान बढाउन उनकै नामबाट अस्पताल बनाउने घोष्णा गरे । स्थानीयको मलिलो मुहारमा मुस्कान आयो ।
त्यतिबेला स्मृति दिवसमा सहभागी भएका ६२ वर्षीय रामगोविन्द रोहिताले अब उपचार अभावमा परिवारको सदस्य गुमाउनु नपर्ने सपना पनि देखे । उनले सपना देखेको डेढ दशक पुग्न लागेको छ । तर, पूरा हुने छाटकाट अझै देखिएको छैन । उनको १५ वर्षयघिको सपनाको अब आश मर्न थालेको छ । नेताको कुरा भाषणमै सीमित हुने गरेको उनको भनाइ छ । सरकारप्रति आक्रोस पोख्दै उनले सहिद रानको मान बढ्यो कि अपमान ? भन्दै प्रश्न गर्छन् ।
स्थानीयले दिएको जग्गामा सुविधा सम्पन्न अस्पताल बन्यो । तर, सञ्चालनमा आउन नसक्दा स्थानीय सरकारप्रति आक्रोशित भएका छन् । रोहिताका अनुसार अस्पताल निर्माणको लागि पाँचजना किसानले दुई विघा जग्गा दान गरेका छन् । करोडौंको लागतमा भौतिक संरचना निर्माण भए पनि राजनीतिक विवाद र सरकारको चासोकै कारण अझै सञ्चालनमा नआएको स्थानीयको भनाइ छ ।
गत वर्ष प्रदेश २ सरकारले उक्त अस्पताललाई जिल्ला अस्पतालको रुपमा स्तरोन्नी गरी सञ्चालनमा ल्याउने निर्णय पनि गर्यो । कोभिड १९ बाट प्रभावित भएर प्रदेश २ हटस्पर्ट बनेको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको बैठकले जिल्ला अस्पताल नभएका जिल्लाहरु पर्सा, धनुषा र सप्तरीमा रहेका अस्पताललाई ५०\५० बेडको अस्पतालमा परिणत गर्ने निर्णय गरेको गरेको थियो ।
पर्साको पोखरिया, धनुषाको डुमरिया र सप्तरीको भारदहस्थित अस्पताललाई जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्ने ०७७ चैत २ गते निर्णय गरेको थियो । तर, अझै संचालनमा आएको छैन्, न त स्तरोन्नती नै भएको छ । अस्पताल सञ्चालनका लागि स्थानीयले पटक–पटक आन्दोलन पनि गरे । तर, सुनुवाई भएनन् । अहिले स्थानीय उपचारका लागि जनकपुरधाम आउनु पर्ने बाध्यता छ ।