सर्लाही, माघ १२

सर्लाहीको एक स्थानीय तहमा जनप्रतिनिधिहरुले प्रमुख प्रशासकिय अधिकृतमाथि नै हातपात गरेका छन् ।

सर्लाहीको हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत वसन्त न्यौपानेमाथि सोही पालिकाका केही वडाध्यक्षहरुले हातपात गरेका हुन् ।

कार्यालय सहयोगीको भर्नाको बिषयलाई लिएर हरिपुर्वा नगरपालिकामा केही दिनदेखि जनप्रतिनिधीहरुबिच विवाद चलिरहेको थियो । बिहीबार सोही विषयलाई लिएर प्रमुख प्रशासकिय अधिकृत न्यौपानेमाथि केही वडाध्यक्षहरुले मेयरकै कार्यकक्षमा हातपात गरेका छन् ।

नगरपालिका मातहत रहेका कर्मचारीहरुले एक प्रेस विज्ञप्ती जारी गर्दै प्रमुख प्रशासकिय अधिकृत न्यौपानेमाथि भएको हातपात तथा दुर्व्यवहार निन्दनीय रहेकोले घोर भत्र्सना गदैै दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले नगरप्रमुख बिनोद कुमार साहको कार्यकक्षमा उनीसँग बसेर कुराकानी गरिरहेको बेला लोसपाबाट निर्वाचित वडा नम्बर–२ का वडाध्यक्ष दिनेश राय, जसपाबाट निर्वाचित वडा नम्बर–३ का वडाध्यक्ष प्रमोद राय, नेपाली कांग्रेसबाट निर्वाचित वडा नम्बर–४ का वडाध्यक्ष नोखेलाल राय, जसपाबाट निर्वाचित वडा नम्बर–७ का वडाध्यक्ष उमेश राय तथा वडा नम्बर–६ का वडाध्यक्ष रामस्वार्थ रायलगायतकाले कार्यालय सहयोगी भर्नाको बिषयलाई लिएर बिबाद गर्दै प्रमुख प्रशासकिय अधिकृतमाथि हातपात गर्दै गाली बेइज्जती गरेको भन्दै कर्मचारीहरुले नगरप्रमुख साहलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।

उनीहरुले सो ज्ञापनपत्रमा दोषीउपर कारबाही नभएसम्म नगरपालिका भित्रका सम्पुर्ण कार्यालयमा आवश्यक सेवाबाहेक सबै कामकाज ठप्प रहने उल्लेख गरेको छ ।

यता, वडाध्यक्ष रामस्वार्थ रायले आफूहरुले कार्यालय सहयोगी भर्ना तथा प्रमुख प्रशासकिय अधिकृत बिदामा बसेको दिन पनि हाजरी रजिष्टरमा हाजिरी गरेको बिषयमा सोधखोज गर्दा सामान्य विवाद मात्र भएको बताए । कुनै किसिमको हातपात तथा गौलीगलौज आफुहरुबाट नभएको उनले दावी गरे ।