जनकपुर, माघ १८
इलाका प्रहरी महेन्द्रनगरको हिरासत कक्षको भित्ता फोडेर फरार भएका ६ जना थनुवा मध्ये ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फरार थुनुवामध्ये पक्राउ पर्नेहरुमा मिथिला नगरपालिका वडा नम्बर–२ का २५ वर्षीय हरिदिप सिंह, २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका वडा नम्बर–६ का २८ वर्षीय रोशनकुमार महतो रहेको धनुषा प्रहरीले जनाएको छ ।
अभद्र व्यवहार तथा शान्ति सुरक्षाविरुद्धको मुद्दाका हरिदिपलाई मंगलबार राति र अमितलाई मंगलबार दिउँसो पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए । त्यस्तै हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको उनले बताए ।
सोमबार इलाका प्रहरी कार्याललय महेन्द्रनगरको हिरासत कक्षको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना फरार भएका थिए । अन्य फरार रहेका ३ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



