जनकपुर, माघ २२

धनुषामा एक मिटरव्याजीलाई हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ बस्ने ४१ वर्षीय दिलिप साह रहेको धनुषा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले आरोपित साहको घर तथा पसल खानतलासि गर्दा कपाली तमसुकहरू, जग्गाधनि पुर्जाहरू, खाली चेक लगायत विभिन्न कागजात र एक थान कटुवा पेस्तोल, ३०३ राईफलमा लाग्ने गोली ४ थान, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १ थान बरामद भएको छ ।

प्रहरीले दिलिप तथा उनको श्रीमति ममता देवी साहको नाममा रहेको राजीनामा फारम सहितको जग्गा धनि पुर्जा ३९ थान, दिलिप साहको नाममा जग्गा रोक्का रहेको फारम ५ थान, रकम उल्लेख नभई दस्तखत भएको सिटिजन बैंकको चेक १ थान, कपाली तमसुक १५ थान, खाली कागजमा सहिछाप भएको ६ वटा पाना, लेनदेन मुद्दाको विपक्षी पवन नारायण झाको नाममा रहेको सक्कलै म्याद बान १ थान, लेनदेन मुद्दाको दिलिप साहको नाममा रहेको तारेख पर्चा १४ थान समेत बरामद गरेको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय धनुषामा मिटरब्याजी साहमाथि पीडित ऋणीहरुले उजुरी दिएको आधारमा प्रहरीले छापा मारेको थियो । पक्राउ परेका मिटरव्याजी साहमाथि थप अनुसन्धान कार्य भइरहेको धनुषा प्रहरीले जनाएको छ ।