जनकपुर, फागुन ९
होलीको दुई साता अघि देखि सुरु हुने मिथिला मध्यमा परिक्रमा आज देखि विधिवतरुपमा सुरु भएको छ ।
मिथिलालञ्चलको ऐतिहासिक धार्मिक महत्व बोकेको १५ दिने मिथिला माध्यमिकी परिक्रमा धनुषाको कचुरीबाट बिहिबार देखि शुरु भएको हो ।
फागुन शुक्ल प्रतिपदा देखि पुर्णिमासम्म चल्ने माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरी र भारत विहार प्रान्तको सीमावर्ती क्षेत्र अवस्थित धार्मिक ऐतिहासिक ठाँउहरुको नेपाल–भारतको सीमावर्ती क्षेत्र गरि १ सय ३३ किलो मिटर भु–भागको साधुसन्त लगायत श्रद्धालुभक्तजनले पैदल यात्रा गर्ने परम्परा छ ।
धनुषाको मिथिला विहारनी नगरपालिका वडा नम्बर ८ कचुरी स्थित मिथिला विहारी मन्दिरबाट झाँकी किर्तन सहित रामजानकीको डोला जनकपुरको रत्नसागर मठ हुदँै जानकी मन्दिर ल्याउने परम्परा रहेको छ । यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका डोलाहरु समेत समावेश गरि परिक्रमा यात्रा प्रारम्भ भएको मानिन्छ ।
बृहत्त, मध्य र अन्तरगृह गरि ३ प्रकारको परिक्रमा गरिन्छ । तर विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरुको संख्या अहिले पनि उल्लेख्य छ । डोलाको पछि–पछि परम्परागत बाजाँगाजा, झाँकी किर्तन सहितका मौलिक पहिरनमा लाखाँै नर–नारीहरु सहभागिता हुने गर्छन । लावा लस्कर सहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरुको परिक्रमा गर्ने गरिन्छ । १५ दिने माध्यमिकी परिक्रमलाई मध्यमा परिक्रमा पनि भनिन्छ ।
पन्ध्र दिने परिक्रमामा जनकपुरधामको हनुमानगढी (हनुमाननगर)बाट कल्याणेश्वर हुदैँ फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षीरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), अउढी, करुणा, बिसौल र फेरी कल्याणेश्वर हुँदै फागुन पूर्णीमाको दिन जनकपुर फर्कन्छ र नगरको पाँचकोशे अन्तर्गृह परिक्रमा गरि समाप्त हुन्छ ।
हजारौँ श्रद्धालुभक्तजनहरुको भिडले पन्ध्रदिन सम्मको एउटा पदयात्राको माध्यमले धार्मिक अभियानमा हिडेरै परिक्रमाले जनकपुरधामलाई धार्मिक पर्यटन स्थलको रुपमा प्रसिद्धि दिलाउने कार्य समेत गर्दछ ।
नेपाल–भारत सामाजिक सांस्कृतिक तथा सद्भावको प्रतिक

नेपाल–भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्राको नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् । मिथिला महात्मयमा विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे बेग्लाबेग्लै रुपमा चर्चा गरिएको स्थलप्रति भक्तजनमा अटुट अन्धविश्वास रहेको पाइन्छ ।
मिथिला महात्म्य अनुसार १८ औँ शताब्दी देखि धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाको रुपमा मनाइदै आएको छ । यस यात्रामा सहभागि हुने श्रद्धालु भक्तजनले नेपालको १ सय ७ तथा भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिको पैदलयात्र तय गरिन्छ । परिक्रमामा भारतको अयोध्या, मथुरा, हरिद्धार, दरभंगहा, सितामढी, बैजनाथधामलगायतका साधुसन्तहरुको उल्लेख्य सहभागिता हुनेगर्छन् भने नेपालका विभिन्न स्थलबाट प्रतिनिधिमुलक उपस्थित साधुुसन्तको रहने गर्छ ।
महाशिवरात्री सम्पन्न लगत्तै प्रारम्भ हुने यस धर्मिकयात्रा १५ दिन भित्र जनकपुर पुगी होली खेलेर फागुनपुर्णिमा तिथि पारी समापन गर्ने परम्परा छ । यस परिक्रमामा सहभागि भएमा मन, वचन र कर्मले भएका अनेकन पाप तथा अन्याय नष्ट भएर मनोकामना पुरा हुने एवं मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रहेको साधुसन्तहरुको दावी रहदैँ आएको छ ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा छ ।
यसलाई मिथिलाञ्चल क्षेत्रकै महाकुम्भ भनेर पनि चिनिन्छ । तर, मिथिला महात्मयमा माध्यमिकी परिक्रमा गर्न नसक्नेहरुले छोटो दुरीको अन्तःगृह परिक्रमा गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । अन्तःगृह परिक्रमाको सीमा क्षेत्र जनकपुरधाम उपमहानगरपालिका भित्र पर्छ ।
मिथिला महात्म्यमा हरिहर क्षेत्रबाट प्रारम्भ भई गण्डकी नदीको किनार हुदै हिमालय क्षेत्र, कोशी नदी भएर पुनः हरिहर क्षेत्रमा समापन हुने वृहत् परिक्रमाको चर्चा गरिएको छ । भारतको पटनास्थित गंगा नदीको तटमा हरिहर क्षेत्र अवस्थित छ ।
वृहत् माध्यमिकी र अन्तःगृह परिक्रमा मंसिर, माघ, फागुन र वैशाख महिनामा गर्नसक्ने वैदिक मान्यता भएपनि ती परिक्रमा फागुन महिनामै हुने परम्परा छ ।
केही दशकयता माध्यमिकी परिक्रमाको क्षेत्र र अवधि विस्तारित भए पनि जनकपुरस्थित रत्नसागरस्थनका स्वः महन्त बाबा नारायण दासजीले करिब डेढसय वर्षपूर्व देखि दुईसय सम्म साधाुसन्तलाई लिएर वनजंगलको बाटो भएर माध्यमिकी परिक्रमालाई मिथिला महात्मयको निर्देशअनुसार पुनःआरम्भ गरेको बताइन्छ । त्यसलाई करिब पचास वर्षपछि स्थानीय सीताकुण्डका महन्त परमहंस सियालाल शरणले पाँचसय साधुसहित वाजागाजा सहित परिक्रमा गरेका थिए ।
पाँचसयको सानो संख्यालाई बढाएर २० हजार पु¥याई परिक्रमाको महत्व बढाउने तथा वैष्णव सम्प्रदायको प्रवद्र्धनमा महन्त परमंहसको उल्लेखनीय योगदान रहेको लक्ष्मी नारायण मठ मटिहानीका मान महन्थ जग्गनाथ दास वैष्णवले बताउछन् ।
माध्यमिकी परिक्रमाको स्थल

मध्य परिक्रमा अर्थात् पञ्चकोशी परिक्रमा नेपाल–भारतको ८० कोशको वृत्ताकारमा धुमी मनाइने गरिन्छ । नेपाल र भारतको १५ विश्रामस्थलमा फागुन शुक्ल प्रतिपदा देखि सुरु गरी फाल्गुण पूणिर्मासम्ममा यो परिक्रमा अन्त्य गर्ने गरिन्छ । हरेक विश्रामस्थलको आफ्नो छुट्टै विशिष्ट र पुरातात्विक महत्व रहेको छ ।
हनुमानगढी : फाल्गुण अमावस्याको दिन धनुषाको कचुरी मठबाट निस्केको रामजानकी (मिथिलाविहारी) को डोला लिएर जानेहरू जानकी मन्दिर हुँदै बाजागाजासहित हनुमानगढीमा राति विश्राम लिन्छन् । यहाँ सयौ वर्ष पुरानो हनुमान मन्दिर छ । यस क्षेत्रलाई अचेल हनुमाननगर भन्ने गरिन्छ । सीमावर्ती क्षेत्र भारतको विहार प्रान्त स्थित कलना र फुलहर पर्दछ । भने अन्य विश्रामस्थल नेपालमै पर्दछ ।
कल्याणेश्वर ( कलना ) : विश्रामको दोस्रो विश्रामस्थल भारतको कल्याणेश्वर अर्थात कलना हो । यहाँ कल्याणेश्वरनाथ महादेवको मन्दिर छ । राजर्षिजनकले आफ्नो राजधानी जनकपुरधामको चारै कुनामा स्थापना गरेका चार महादेवमध्येको एक हो ।
गिरिजास्थान (फुलहर): परौणाकिस्थलको रुपमा रहेको कल्याणेश्वर स्थानबाट चार कोश दक्षिण पश्चिममा रहेको गिरिजास्थान तेस्रो दिनको विश्रामस्थल हो । त्रेतायुगमा सीताले यहीं फूल चुनिरहेको बेला रामको पहिलो भेट भएको किंवदन्ति छ । यहाँ दुःखहरण कुण्ड, सीतासागर र फूलबारी रहेको छ ।
मटिहानी : मिथिला पञ्चकोशी परिक्रमा चौथो दिन अर्थात् फाल्गुण शुक्ल तृतीयाको दिन महोत्तरी जिल्लाको पहिलो विश्रामस्थल मटिहानी पर्दछन् । यहाँ सीताजीको मटकोरको लागि माटो खनिएको विश्वास गरिन्छ । यहाँ प्रसिद्ध लक्ष्मीसागर नामको पोखरी र लक्ष्मीनारायणको मन्दिर रहेको छ ।
जलेश्वर : मटिहानीबाट तिर्थालुहरु अर्को दिन जलेश्वर पुग्छन् जो मटिहानीबाट २ कोश पश्चिममा पर्छ । यहाँ जलमा विराजमान जलेश्वरनाथको पूजा आराधना गर्ने गर्छन् ।
मडै : फाल्गुण शुक्ल पञ्चमीको दिन परिक्रमाको डोला जलेश्वरबाट प्रस्थान गरी मडै पुग्छन् र यहाँ राति विश्राम लिन्छन् । प्राचीनकालमा यहाँ माण्डव ऋषिको आश्रम र सीताजीको बिहेको लागि मडवा (वेदी ) यहीं बनाइएको जनश्रुति पाइन्छ ।
धु्रवकुण्ड : मडईबाट सातौं दिन धु्रवकुण्ड पुगिन्छ र यहाँ विश्राम लिइन्छ । यहाँ ध्रुवको मन्दिर र ध्रुव कुण्ड रहेको छ ।
कञ्चनवन : ध्रुवको दर्शन गरेर तिर्थालुहरु महोत्तरीको अन्तिम विश्रामस्थलको रूपमा रहेको कञ्चनवनमा सप्तमीको दिन पुगी विश्राम लिन्छन् । यहाँ इच्छावती र विरजा गंगाको पवित्र संगमस्थल भएकोले यसलाई पवित्र मानिन्छ । पौराणिककालमा यहाँ अनारवन, तमालवन, तालवन, कदलीवन लगायतका १२ वटा रमणीय वन रहेका थिए । त्रेतायुगमा यहाँ भगवान् रामले होली खेलको किंवदन्ति अनुसार यहाँ परिक्रमाबासी पुगी अबिर खेली होली मनाउने गर्छन् ।
पर्वता : नवम दिन तिर्थालुहरु धनुषाको पर्वतामा विश्राम लिन्छन् । राजा जनकद्वारा स्थापित क्षिरेश्वरनाथ महादेवको मन्दिर यहाँ रहेको छ ।
धनुषाधाम : पर्वताबाट तिर्थालुहरु दशौं विश्रामस्थलको रूपमा रहेको धनुषाधाम पुग्छन् । यहाँ जनकपुरमा सीताको स्वयम्वर हुँदा मर्यादापुरुषोत्तम रामले भाँचेको धनुषको एक टुक्रा खसेको विश्वास छ । यहाँ सीताराम, हनुमान लगायतका मन्दिर रहेको छ तर दर्शनार्थीको दर्शनको केन्द्रबिन्दु धनुष रहेको पाइन्छ ।
सतोषर : फाल्गुण शुक्ल दशमीका दिन तिर्थालुहरु डोलासँगै सतोषर पुग्ने गर्दछ । यहाँ सातवटा पोखरी, शिव र सीताराम मन्दिर रहेको छ ।
औरही : विमला नदीको तटमा रहेको औरहीमा १२ औं दिनको विश्राम लिइन्छ ।
करुणा: नेपालको औरहीबाट पुनः परिक्रमा भारतको करुणा तेह्रौं दिनमा प्रवेश गर्छन् । यहाँ करुणा नामको नदी विख्यात रहेको छ ।
विशौल: तिर्थालुहरु करुणामा विश्राम गरेपछि चतुर्दशीको दिन भारतको विशौल पुग्ने गर्दछ । यहाँबाट कमला नदी बग्दछ भने यहाँ ऋषि विश्वामित्रको मन्दिर समेत रहेको छ ।
जनकपुरधाम: परिक्रमाको अन्तिम विश्रामस्थल जनकपुरधाममा तिर्थालु पुगी विश्राम लिन्छन् । यहाँ राति विश्राम पश्चात् अन्तिम प्रहरमा अन्तगृही परिक्रमा गर्ने गर्छन् । जानकी र रामअमन्दिरलाई केन्द्रबिन्दु मानी अन्तगृही परिक्रमा गर्ने गर्छन् । यससंगै मिथिलामा होली प्रारम्भ हुन्छ ।
१५ दिने माध्यमिकी परिक्रमामा सहभागि तिर्थालुहरु १५ दिनसम्म नै पदयात्रा गर्ने गदर्छन् ।
फागुन शुक्ल प्रतिपदाबाट प्रारम्भ हुने मिथिला मध्यमा परिक्रमा जनकपुरधामको हनुमानगढीबाट शुरु भई भारतको कलाणेश्वर, गिरिजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन हुँदै धनुषाको पर्वता धनुषाधाम, सतोषर, औरहीमा एक÷एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आइपुग्छन् । पूर्णिमाको दिन जनकपुरधामको अन्तःगृह परिक्रमा गरी होली खेलेर १५ दिवसीय यात्रा सम्पन्न भएको मानिन्छ ।



