खोजवाणी संवाददाता
काठमाण्डौ, असोज ५

नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको छ । प्रकाशित गरेसँगै नयाँ व्यवस्थाअनुसार अबदेखि आमाको नामबाटसमेत नागरिकता वितरणको बाटो खुलेको छ ।

बिहीबार नियमावली प्रकाशित भएसँगै उमेर पुगेका र बाबुको पहिचान हुन नसकेका व्यक्तिले आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र पाउने व्यवस्था गरिएको छ । त्यस्ता व्यक्तिले नागरिकता पाउन जन्मदर्तासहित आमाको नेपाली नागरिकता वा आमा नेपाली रहेको प्रमाण पेश गर्नुपर्ने हुन्छ । यसअघि बाबुको नागरिकता अनिवार्य रहेकोमा नियमावली संशोधन भएसँगै बाबुको पहिचान नभएका व्यक्तिले अवदेखि आमाका नामबाट नेपाली नागरिकता पाउने छन् ।

तर यस प्रावधानमा विदेशी मुलुकको नागरिकता नलिएको भनी अनुसुची –७ क बमोजिम स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै संशोधित नियमावलीमा गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न अनुसुची–८ (ग) वमोजिमको ढाँचामा आफू वा आफ्नो बाबु, आमा, बाजे, वा बज्यैमध्ये जसको नेपाली नागारिकताको प्रमाणपत्रको आधारमा गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिने हो सो नागरिकता प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारी समक्ष वा आफू नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुक समेत हेर्ने कार्याक्षेत्र तोकिएको नेपाली दुतावास वा बाणिज्य दुतावासमा निवेदन दिएर नागरिकता लिन सक्ने व्यवस्था गरिएको छ ।

त्यसका लागि तोकिएका कागजपत्र आवश्यक पर्नेछ । यसरी नागरिकता लिने व्यक्तिले नेपाली दूतावास वा महावाणिज्य दुतावासमा निवेदन दिएपछि दुतावासका कर्मचारीले १५ दिनभित्र अनिवार्य रुपमा रायसहित परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।
प्राप्त कागजातमा प्रमुख जिल्ला अधिकारी वा तोकेको अधिकारी अथवा निजले तोकेको अधिकृत कर्मचारीसमक्ष उपस्थित भएर सनाखत गर्नुपर्ने हुन्छ ।
नयाँ नियमावलीअनुसार नेपाली नागरिकता ऐन, २०६३ भन्ने शब्दहरुपछि ‘वंशजको नाताले’ भन्ने शब्द थपिएको छ भने नागरिकताको किसिम भन्ने शब्द हटाइएको छ ।