जनकपुर, फागुन २१
जनकपुरमा जग्गाका कारण दुई व्यक्ति बिचको जग्गा विवाद बल्झिदै गएको छ ।
एक दशकदेखिको सो जग्गा विवादमा उपमहानगरपालिकाले चासो नलिँदा विवाद बढ्दै गएको हो ।
जिल्लाको लक्ष्मिनिया गाउँपालिका वडा नम्बर–५ बस्ने रामदेव यादवले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ रजौलमा घर बनाउने अभिप्रायले आफ्नो श्रीमती शिवकुमारी यादवको नाममा ७ धूर जग्गा लिएका थिए । लक्ष्मिनिया गाउँपालिकाकै अर्का रामदेव यादवसंग उनको घनिष्ठ मित्रता थियो । दूबै जना मिलेर पार्वती साहबाट २५ धुरको एउटा जग्गा किने । जसमध्ये ७ धुर शिवकुमारी यादवको नाममा र बाँकी जग्गा सुशिला देवी यादवको नाममा रहेको छ ।
पहिले रामदेव पछाडीको जग्गा लिन चाहँदैनथे तर पछि बाटो मिलाई दिने आश्वासन पाएपछि उनले आफ्नो श्रीमतीको नाममा सो जग्गा लिएका थिए । तर अहिले आएर बाटो घेर्नुका साथै उनको जग्गामै पर्खाल लगाएपछि विवाद सिर्जना भएको छ ।
बाटो खुलाई दिनका लागि उनी जनकपुरधाम उपमहानगरपालिकाको न्यायिक समितिमा निवेदन लिएर समेत पुगेका थिए । जहाँ २०७२ साल फागुन २३ गते सुशिला देवीलाई ५ हजार रुपैयाँ जरिवानाका साथै बाटोको अवरोध हटाउन आदेश दिइएको थियो । तर वडा नम्बर–१४ का वडाध्यक्ष पुण्यप्रताप यादव सुशिलाको पक्षमा लागेपछि त्यो बाटोमा निर्माण गरिएको भौतिक संरचना हटाउन सकिएन् ।
वडाध्यक्ष यादव नगरप्रमुख लालकिशोर साहको नजिकका पात्र हुन् । वडाध्यक्ष यादवको संलग्नता पछि नगरप्रमुुख लालकिशोर साह पनि मौन भएर बसेका छन् ।
पछि उल्टै शिवकुमारीलाई नै प्रतिवादी बनाएर सुशिलाले उच्च अदालत जनकपुरधाम मुद्दा दिइन् । उच्च अदालतले शिवकुमारीकै पक्षमा फैसला सुनाउँदै बाटो रहेको अवरोध हटाउन आदेश दिएको थियो । अदालतले न्यायिक समितिलाई सदर गर्दै जरिवाना हटाएर बाँकी फैसला कार्यान्वयन गर्न २०७६ मंसिर १९ गते फैसला सुनाएको थियो ।
तर उच्च अदालतको फैसलालाई अवज्ञा गर्दै बाटोमा रहेको अवरोध न सुशिलाले हटाएकी छिन न त उपमहानगरले नै पहल गरेको छ ।