जनकपुर, साउन ७
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी नेपाल फुट भईसकेको बताएका छन् ।
शनिबार जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै उनले जसपा फुटिसकेपनि बाबुराम भट्टराईको नेतृत्वमा फुटको घोषणा हुन बाँकी रहेको बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नागरिकता समस्या समाधान गरेर जनताको समस्या समाधान गर्न पाएकोमा निकै उत्साहित रहेको बताए । उनले मधेसमा वर्षोदेखि व्याप्त रहेको नागरिकता समस्या समाधान भएकोमा आफूपनि उत्साहित र खुशी रहेको बताए ।
उनले नयाँ दिल्लीमा आरजु देउवा र आफूबीच आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र शेरबहादुर देउवालाई राष्ट्रपति बनाउने सहमति भयो भनेर फैलाएको हल्ला हावादारी भएको प्रतिक्रिया दिएका छन् ।
अध्यक्ष प्रचण्डले भने, ‘यो सव हावा कुरा हो । यो एक भ्रम फैलाउने कुनै न कुनै गिरोहले गरेको अपराधिक हल्ला हो, यसमा कुनै सत्यता छैन, त्यो हुन सक्ने कुरा पनि होइन’, प्रचण्डको स्पष्टोक्ति छ ।
उनले आरजु उपचारका क्रममा दिल्लीमा भएको र नेपाली राजदूत शंकर शर्माले ब्रेकफास्ट मिटिङ भनेर दूतावासमा बोलाएका बेला आरजुसँग भेट भएको बताए । त्यहाँ राजदूत शर्माले आरजुलाई समेत बोलाएकाले एकछिन ब्रेकफास्टका बेला सँगै बसे बाहेक अरु केही कुरा नभएको बताए ।
उनले भने, ‘अरु केही कुरा अरु कसैसँग त्यो हुनसक्ने कुरा पनि थिएन । तर त्यो प्रचार भयो र यति प्रचारमा लाने कोशिस गरियो कि अन्तर्राष्ट्रियस्तरमा समेत लगिएछ’, प्रचण्डले भने, ‘सोही कारण मोदीले नभेटेको भन्ने पनि विल्कुल होइन ।’
उनले त्यस्ता वाहियात र षडयन्त्र मूलक प्रचारबाजीबाट सर्तक हुन समेत सबैलाई आग्रह समेत गरे ।