जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मधेश प्रदेशको जनकपुरधामबाट प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् ।

नेपाली कांग्रेसले मधेश प्रदेशको राजधानी जनकपुरधामबाट मुलुकमा सुशासन र समुन्नति कायम गर्ने उद्देश्यसहित आफ्नो १० बुँदे विस्तृत भिजन सभापति थापाले सार्वजनिक गरेका छन् ।

आज आयोजित विशेष समारोहमार्फत सार्वजनिक गरिएको कांग्रेसको प्रतिज्ञापत्र मा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने मूल नाराका साथ १० बुँदे भिजनसहित सार्वजनिक गरिएको छ ।

भिजनमा कांग्रेस पार्टीले आगामी पाँच वर्षभित्र हासिल गर्ने लक्ष्यहरू र ‘बदलियो कांग्रेस, बदलिन्छ देश’ भन्ने उद्घोषका साथ नागरिकको जीवनस्तर उकास्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सो भिजन सार्वजनिक गर्दै सभापति थापाले अब नकाब लगाएर कसैले पनि सिंहदरबार जलाउने नपाउने बताएका छन् । बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको प्रतिज्ञासभालाई सम्बोधन गर्दै सभापति थापाले भदौ २३ जसरी युवा पनि राज्यको गोलीले नमारिने प्रतिज्ञा गरे ।

यसका साथै, विधिको शासनलाई कडाइका साथ लागू गर्दै सत्ता र शक्तिको पहुँचका भरमा पाइने विशेषाधिकार अन्त्य गर्ने र बेथिति तथा हैरानीमुक्त प्रशासनिक सेवा प्रवाह गर्ने संकल्प प्रस्तावमा गरिएको छ ।

भ्रष्टाचार नियन्त्रण र सरकारी सेवामा ढिलासुस्ती अन्त्य गरी नागरिकले घरमै बसेर सेवा पाउने प्रबन्ध मिलाउने सभापति गगन थापाले दाबी गरे । आर्थिक समृद्धिका सन्दर्भमा कांग्रेसले निजी क्षेत्रको प्रवद्र्धन र सम्पत्ति सिर्जनालाई प्रोत्साहन गर्ने नीति अघि सारेको छ ।

स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवाहरूले नेपालमै भविष्य देख्न सक्ने वातावरण बनाउने र विदेश पलायन रोक्ने रणनीति दस्तावेजमा समेटिएको छ ।

कृषिलाई मर्यादित पेसाको रूपमा विकास गर्दै ‘पेटभरी खुवाउने र देशलाई चिनाउने’ किसानको नेपाल बनाउन प्रविधि र बजारको उचित व्यवस्थापन गरिने उल्लेख छ । यसका साथै, पर्यटन, ऊर्जा र पूर्वाधारको विकासमार्फत समुन्नतिको बाटोमा लम्कने नेपालको चित्र प्रस्तुत गरिएको छ ।

आधारभूत सेवा सुविधातर्फ शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व बढाउने प्रतिबद्धता जनाइएको छ । ‘ओखती र ओत दिने नेपाल’ को परिकल्पना गर्दै उपचारकै कारण कोही पनि गरिब हुनु नपर्ने र गुणस्तरीय स्वास्थ्य बीमा प्रणाली लागू गर्ने जनाइएको छ ।

त्यस्तै, छोराछोरी पढाउन अभिभावकमाथि आर्थिक भार नपर्ने गरी गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्ने र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
नेपालको मौलिक विविधता, भाषा, संस्कृति र सम्पदामा गर्व गर्दै आधुनिकतालाई समेत आत्मसाथ गर्ने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको स्वाभिमान उच्च राख्ने विदेश नीति अवलम्बन गरिने कुरालाई भिजनमा समेटिएको छ ।

त्यस्तै कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिलेको प्रश्न सरकार कसले बनाउँछ भन्ने भन्दा पनि देश कसले बचाउँछ भन्ने रहेको बताएका छन् ।

प्रतिज्ञासभामा पार्टीको निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका उपसभापति शर्माले अहिलेको मूल प्रश्न देश र व्यवस्था कसले बचाउँछ भन्ने रहेको बताएका छन् ।
जेन–जीले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्न नसके, अहिले जेनजीको नेतृत्वमा विद्रोह भएको र १० वर्षपछि अल्फाको नेतृत्वको विद्रोह हुने शर्माले बताए । आफू नबदलिए देश बदल्न नसकिने भन्दै कांग्रेसले विशेष महाधिवेशनबाट नेतृत्व बदलेको शर्माले बताए ।