उपमेयरमा चार जना आकांक्षीको दावी

न्यूज डेस्क

जनकपुर, चैत्र १५

स्थानीय तहको निर्वाचन नजिकिएसंगै नेपाली काँग्रेसमा आकांक्षी उम्मेदवारहरुले आ–आफ्नो दावी गर्न थालेका छन् ।

धनुषा काँग्रेसमा स्थानीय तहको निर्वाचन नजिकिएसंगै जनकपुरधाम उपमहानगरपालिकामा आकांक्षी उम्मेदवारहरुले अहिले देखि नै आ–आफ्नो पक्षमा माहौल बनाउनका लागि सामाजिक सञ्जाल देखि आन्तरिकरुपमा नेता तथा कार्यकर्तासंग भेटघाट गर्न थालिसकेका छन् ।

मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकालाई विशेषरुपमा राजनीतिक दलहरुले राखेका छन् ।

यहाँ सबै दलले आ–आफ्नो दावी गरिरहँदा काँग्रेस भित्र रहेका आकांक्षीहरुको संख्यामा वृद्धि हुँदै गएको छ ।

गत निर्वाचनमा हरेक राजनीतिक दलले स्थानीय तहको उपाध्यक्ष\उपप्रमुखमा महिलालाई नै उम्मेदवारी दिन लगाएपछि सो पदमा अधिकांश काँग्रेसी महिला नेतृहरुले दावी गरेका छन् ।

तर एक नेतृले भने महिला सक्षम, सबल र नेतृत्वमा आउनका लागि भन्दै जनकपुरधाम उपमहानगरको मेयर पदमा समेत दावी गरेकी छिन् ।
जनकपुरधाम उपमहानगरको उपमेयरका लागि रुणा झा, विजेता झा, रिंकू कुमारी मिश्र (गायत्री), नीलम कर्ण र सम्झना बर्माको काँग्रेसीजनमा बढि चर्चामा रहेको छ ।

तर यसैवीच विजेता झाले भने आफु काँग्रेसबाट मेयरको दावेदार रहेको जनाएकी छिन् ।

राजनीतिक इतिहासमै अहिलेसम्म हरेक प्रमुख पद पुरुषले नेतृत्व गरिरहेकाले पहिलो पटक काँग्रेसको तर्फबाट जनकपुरधाम उपमहानगरको मेयर पदको टिकट आफुले पाउनुपर्ने काँग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेकी विजेता झाले दावी गरिन् ।

उनले उपमेयरको पदमै महिलालाई पार्टीहरुले सिमित गर्न खोजेकाले यस पटक महिलालाई मेयर पदको टिकट दिनुपर्ने भन्दै उनले खोजवाणी संवाददातासंग कुराकानी गर्दै भनिन्, ‘ काँग्रेसको इतिहासमै पहिलो पटक मेयर पदको टिकटमा आफ्नो दावी रहेको र आफुले नै टिकट पाउनेमा ढुक्क समेत रहेकी छु ।’

No photo description available.

काँग्रेसबाट जनकपुरधाम उपमहानगरपालिकाको उपमेयर बन्नका लागि पत्रकार देखि कलाकार, सामाजिक सेवामा संलग्न रहेकीहरु समेत छिन् ।

स्रोतको अनुसार काँग्रेसमा नेतृ विजेता झाको नाम अग्रपंक्तिमा रहेको छ । उनले करिब करिब मेयरको टिकट पाउनेमा पक्का पक्की रहेका स्रोतको जिकिर छ ।

नेतृ विजेता झा एक शिक्षा अभियान र विश्व हिन्दु परिषद् धनुषाकी अध्यक्ष समेत हुन् । उनी विगत साढे ५ वर्ष देखि सामाजिक कार्यमा संलग्न रहँदै आएकी छिन् भने लामो समय देखि काँग्रेसबाट राजनीतिकमा सक्रिय छिन् । उनको नाम काँग्रेसको जिल्ला बैठक हुँदा समेत निकै महत्वका साथ चर्चा हुने गरेको काँग्रेसीजनहरु बताउँछन् ।

पार्टीले डिसिजन् गरेको छैनः सहसचिव विजयकुमार यादव

No description available.

तर नेपाली काँग्रेस धनुषाका सहसचिव विजयकुमार यादवले पार्टीले अहिले नै उम्मेदवारहरु चयनित नगरिसकेको बताउँछन् ।

सहसचिव यादवले स्थानीय तहको निर्वाचनको तयारीमा पार्टी रहेको जानकारी दिँदै उनले भने, ‘अहिले पार्टीले प्रत्येक स्थानीय तहको निर्वाचनका लागि अध्ययन प्रतिवेदन तयारीका लागि टोली खटाइएको छ । यसका लागि पालिका स्तरसम्म टोली खटिएको छ ।’

उनले काँग्रेससंग जोडेर केहीले सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा गरेको तर्फ पार्टीले ध्यान नदिएको बताए ।

काँग्रेस ठुलो पार्टी रहेकाले पदका लागि दावी विरोध सबैले गर्न पाएपनि टिकट लिनका लागि स्थानीयस्तरमा वडा कमिटीबाट टिकटको सिफारिस, पालिका कमिटीबाट सिफारिस हुँदै क्षेत्रीय कमिटीले गरेको निर्णय नै जिल्ला कमिटीले सदर गर्ने भएकाले सामाजिक सञ्जाल देखि जथाभावी हो–हल्ला गरेर काँग्रस पार्टीबाट टिकट पाउन सम्भव नरहेको सहसचिव विजयकुमार यादवले स्पष्ट पारे ।

यता जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका आकांक्षीरुपमा प्रत्यासी उम्मेदवार रहेका मनोज साह समेत छन् ।

जनकपुरधाम उपमहानगरका उपमेयरका स्वतन्त्रबाट खडा भएका प्रत्यासी राकेश विक्रम साह अहिले काँग्रेसका नेता छन् । उनी पनि अहिले देखि मेयर पदका आकांक्षी छन् । भने नेता किशोरी साह भुल्लाको नाम समेत काँग्रसीजनमा चर्चा हुने गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको टिकट पाउनका लागि अहिले देखि नै प्रतिस्पर्धा हुन थालेको छ । तर यस प्रतिस्पर्धा र आकांक्षीहरुका कारण पार्टीलाई खासै फरक नपर्ने बताउँदै सहसचिव यादवले पार्टीको निर्णय नै सर्वोपरी हुने बताए ।

केन्द्रिय स्तरमा स्थानीय तहको निर्वाचनका लागि गठबन्धन हुने समेत चर्चा चलिरहेको बेला जनकपुरधामको हकमा कुन पार्टीले पाउने हो वा मेयर तथा उपमेयर एवं वडालाई कसरी व्यवस्थापन गरिने छ त्यसमा पनि भर पर्ने उनको भनाई छ ।

तर अहिले हामीले भने सबै स्थानीय तहको वडास्तरसम्ममा उम्मेदवारी दिने ढंगले अघि बढिरहेको उनले स्पष्ट पारे ।

उनले स्थानीय तहको निर्वाचनमा काँग्रस पार्टी एक्लै गएमा सबै साथी र नेता तथा कार्यकर्तालाई सन्तुष्टढंगले संगै लैजाने सक्ने भएकाले यस तर्फ ध्यान दिनु राम्रो रहेपनि पार्टीको निर्देशनानुसार नै अघि बढ्नुपर्ने भएको समेत उनले बताए ।