
जनकपुर, साउन ५
केन्द्र सरकारले प्रहरी समायोजनमा अलमल गरेपछि सातै प्रदेशका गृहमन्त्रीहरु काठमाण्डौमा छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दलका शीर्ष नेतालाई भेटेर उनीहरुले केही साता अघि जनकपुर घोषणापत्र बुझाए भने प्रदेशसभाको यो कार्यकालमै प्रहरी समायोजन गरिसक्न आग्रह समेत उनीहरुले गरे ।
सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुले तत्काल प्रहरी समायोजन गर्न माग गर्दै प्रधानमन्त्री देउवालाई दवाव दिँदैछन् ।
तर, संघीय संसदले प्रहरी समायोजनसम्बन्धी विधेयक पास गर्दैमा समायोजन भइहाल्छ भन्नेमा प्रदेशका गृहमन्त्रीहरु भने आशावादी छैनन् ।
मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले सबैको कुरा सुन्दा असाध्यै मिठो रहेपनि यसपालि प्रहरी समायोजन जसरी पनि गराएरै छाड्ने भन्दै अडि लिएका छन् ।
यदी प्रहरी समायोजन नभएमा प्रदेश सरकारले आन्दोलन गर्ने र त्यो बेला चुनावसमेत प्रभावित हुनसक्ने उनले चेतावनी समेत दिएका छन् ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्री साहले भने, ‘प्रहरी समायोजनको काम अघि नबढे केन्द्र सरकारविरुद्ध आन्दोलन सुरु हुन्छ र यसको नेतृत्व मधेशले गर्छ’ साहले भने, ‘उस्तै परे म आफैंले ‘नेपाल प्रहरी मधेश छोड्’ भन्ने नारा लगाउन सक्छु ।’
प्रदेश प्रहरी समायोजन गर्न संघीय सरकारले आलटाल गर्न नछाडेमा प्रदेशमा सर्वदलीय बैठक बसेर नेपाल सरकारका प्रतिनिधि प्रदेश प्रमुखमार्फत अल्टिमेटम दिएर प्रदेश प्रमुखको कार्यालय घेर्नेसम्मको योजना रहेको मन्त्री साहले भने ।
उनले प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन पूर्व नै प्रहरी समायोजन भएन भने प्रदेश प्रमुखको कार्यालय घेर्ने, रिले अनशन बस्ने र प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रमा जितेका सांसदको नेतृत्वमा सर्वदलीय आन्दोलन समिति बनाएर नेपाल प्रहरीलाई मधेश प्रदेशबाट धपाउने चेतावनी दिए ।