राजविराज, फागुन २१

नेपाली काँग्रेस सप्तरीको नयाँ नेतृत्वका लागि आज जिल्ला अधिवेशन जारी रहेको छ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा हुने अधिवेशनका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साह चुनावी मैदानमा भईरहेको छ ।

 

सभापति पदका लागि उम्मेदवारी दिएका शत्रुधनलाई वर्तमान सभापतिसमेत रहेका केन्द्रीय सदस्य दिनेशकुमार यादवको समर्थन रहेका छन् भने सभापतिका अर्का उम्मेदवार रहेका रामदेवलाई सङ्घीय सांसद तेजुलाल चौधरीको समर्थन रहेको जानकारी प्राप्त भएको छ ।

शत्रुधनको प्यानलबाट उपसभापतिमा रामप्रसाद मण्डल र फत्तेमहम्मद, सचिवमा प्रभुनारायण चौधरी र सनतकुमार मण्डल तथा सहसचिवमा घनश्याम साह घन्सी र मनोज खड्गाले उम्मेदवारी दिएका हुन् ।

त्यसैगरी रामदेवको प्यानलबाट उपसभापतिमा रामकुमार यादव र ध्रुवनारायण चौधरी, सचिवमा नन्दकिशोर यादव र दुर्गानन्द यादव तथा सहसचिवमा मो मुश्लिम र रामसुन्दर मण्डलको उम्मेदवारी परेको छ ।

निर्वाचन अधिकृत डा.रुद्र शर्माकाअनुसार जिल्ला अधिवेशनका लागि कूल दुई हजार ५३५ मतदाता छन् ।

त्यस्तै दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यसअघि २० गते तोकिएको मतदान तयारीको समय अपुग भएकाले एक दिनपछि सारिएको थियो ।