
जलेश्वर, फागुन २१
महोत्तरीको काँग्रेसमा दोश्रो चरणको निर्वाचन अघि नै सर्वसम्मत रुपमा नागेश्वर यादव निर्वाचित भएका छन् । उनी संस्थापन पक्षका हुन् ।
चुनावी प्रतिस्पर्धाबाट हटेपछि सहमति हुँदा नागेश्वर यादव सर्वसम्मतले निर्वाचित भएका हुन् । पहिलो चरणको निर्वाचनमा मत परिणामबाट बजरंग नेपाली बाहिरिएपछि नागेश्वर यादव र सुशिल यादव चुनावी मैदानमा थिए ।
कुनै पनि उम्मेदवारले निर्वाचनमा ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोश्रो चरणको निर्वाचन तय भएको थियो । दोश्रो चरणको निर्वाचनमा सुशिल यादव समूहले नागेश्वर यादवलाई समर्थन गरेपछि निर्वाचनविना नै नागेश्वर यादव निर्वाचित भएको घोषणा गरिएको पूर्व जिल्ला सभापति महेन्द्र राय यादवले जानकारी दिए ।
दुवै उम्मेदवार देउवा पक्षधर निकट मानिन्छन । पौडेल पक्षधर बजरङ्ग नेपाली चुनावी प्रतिस्पर्धावाट बाहिरिएपछि डिजाइनमा नै नागेश्वरलाई समर्थन गरिएको केही नेताहरूको भनाई छ ।
तीन जना उम्मेदवार मध्ये पहिलो चरणको मत परिणाममा नागेश्वर यादवले १ हजार ११, सुशिल यादवले ७ सय ७९ र बजरंग नेपालीले ३ सय ६ मत ल्याएका थिए ।