जनकपुर, फागुन २१
सप्तरी काँग्रेस निर्वाचनमा मतपत्र च्यातिँदा निर्वाचन नै स्थगित भएको छ ।
शनिबार नेपाली काँग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि सुरु भएको मतदान स्थगित भएको हो ।
रूपनी गाउँपालिका वडा नम्बर ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विहान ११ बजदेखि मतदान सुरु भएको थियो ।
५० प्रतिशत मतदान भइसकेपछि विवाद उत्पन्न भएको थियो । मतपत्र च्यातेर दुवै पक्षबीच विवाद हुँदा साँझ ५ बजे मतदान प्रक्रिया नै रोकिएको सप्तरी काँग्रेसका निर्वाचन अधिकृत रुद्र शर्माले जनाए ।
नेतृत्वका लागि उम्मेदवार रहेका संस्थापन र संस्थापन इतर प्यानलबीच विवाद भई मतपत्र च्याताच्यात भएपछि मतदान रोकिएको थियो ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका काँग्रेसी तेजुलाल चौधरीले संस्थापन पक्षले नक्कली मतदातालाई मत हाल्न लगाएर धाँधली गर्न खोजेको आरोप लगाए ।
विवादकै क्रममा दुई सय मतपत्र लुटिएको निर्वाचन समितिले जनाएको छ । चुनावमा २५ सय १० मतदाता रहेको उनले बताए ।