
बारा, फागुन २१
बारामा काँग्रेसको निर्वाचनमा धाँधली भएपछि रद्दसंगै मतपत्र नै जलाइएको छ ।
शनिबार कलैयाको सिद्धेश्वर संस्कृत माविमा मतदान भईरहँदा भएको विवाद मिलाउने क्रममा निर्वाचन नै रद्द गरेको थियो । तर त्यसको केहिबेरमै मतपत्र जलाएका हुन् ।
निर्वाचनमा मतपत्र नै कब्जामा लिएर फर्जी मत खसाल्न थालिएपछि निर्वाचन नै रद्द गरी सबै मतपत्र जलाइएको मुख्य निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जनाए ।
मतदान स्थलमा नाराबाजीसँगै प्रदर्शन पनि भएको छ ।
पुनः मतदानका लागि आइतबार बैठक बसेर तय गरिने प्रमुख निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिए ।
उनले निर्वाचन क्षेत्र नम्बर २ नम्बरको ४ वटा बुथमा फर्जी मत खसेपछि अनुगमनको क्रममा अमर्यादित क्रियाकलाप भएको पाइएपछि रद्द गरिएको स्पष्ट पारे ।
उनले तयारी अपुग, मतदान स्थलकहाँ तोक्ने र मतपत्र छाप्न ढिलाइ भएकोले मतदान दिउँसो १ बजेदेखि सुरु भएको बताए ।
पदाधिकारीसहित ८० पदका लागि २ सय २७ जना प्रतिस्पर्धामा छन् । कुल मतदाता २ हजार ४ सय ८१ मध्ये १ हजार ३ सय मत खसेको थियो ।
सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन भड्किलो र खर्चिलो रहेको काँग्रेस कार्यकर्ताहरु नै स्वीकार छन् ।
सबै उम्मेदवारले भोजभतेरदेखि प्रचारप्रसारमा व्यापक खर्च गरेको छ । तीनै जना उम्मेदवारले आ-आफ्नो जित हुने दाबी गर्दै आएका छन् ।
संस्थापन पक्षबाट शम्भुबहादुर बुढाथोकी र राजेश राय गरी दुई जनाले उम्मेदवारी दिएका छन् भने शेखर कोइराला र कृष्ण सिटौलाको समूहको समर्थनमा रामानन्द यादवले सभापति पदमा उम्मेदवारी दिएका छन् ।