जनकपुर, फागुन २२

जनकपुरधाममा एक यूवक माथि गोली प्रहार हुँदा एक जना यूवक घाइते भएका छन् ।

शनिबार राति जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ स्थित बेंगाशिवपुरमा गोली प्रहारबाट धनुषाको कमला नगरपालिका ८ घर भएका १८ वर्षीय मुकेश मुखिया गम्भीर घाइते भएका हुन् ।

बेंगाशिबपुरस्थित मामा भोगी मुखियाको घरमा रहेको किराना पसलमा बसिरहेका बेला मुकेशमाथि गोली प्रहार भएको धनुषा प्रहरीले जनाएको छ ।

 

चिउँडोमा लागेको गोली मुखियाको घाँटीमा गएर अड्किएको धनुषा प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । घाइतेलाई राति नै उपचारका लागि काठमाडाँै पठाइएको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले बताए ।

करिब ६ जनाको समूह बसेर कुराकानी गरिरहँदा एक्कासी उनीमाथि गोली प्रहार भएको धनुषा प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।
घटनास्थलबाट पेस्तोल बरामद भएको र गोली प्रहार गर्नेको समेत पहिचान भइसकेको उनले बताए ।

धनुषा प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ ।