जलेश्वर, फागुन २२

महोत्तरीमा एक प्रहरी अधिकारीले प्रहरी जवानलाई कुटपीट गरेका छन् ।

महोत्तरीको जलेश्वर नगरपालिकामा रहेको अस्थायी प्रहरी पोष्टका इन्चार्ज मोतीराम महतोले आफ्नै मातहतका एक जवानलाई कुटपीट गरेका हुन् ।

जलेश्वर नगरपालिकाको कार्यालयमा रहेको अस्थायी प्रहरी पोष्टको असई मोतीराम महतोले प्रहरी जवान जयनारायण पटेललाई निर्घात रुपमा कुटपीट गरेका हुन् । शनिबार बिहान बजे खाना पकाई रहेको समयमा एक्कासी असई महतो उनीमाथी जाइ लागेका थिए ।

नेपाली कांग्रेस महोत्तरीको अधिवेशनको क्रममा भईरहेको जिल्ला निर्वाचनमा अस्थायी प्रहरी पोष्टमा कार्यरत्त प्रहरीलाई होटेलमै भोजनका लागि निम्तो थियो ।

 

तर प्रहरी जवान पटेललाई सो विषयमा जानकारी नै थिएन । प्रहरी जवान पटेलले भने, ‘मलाई निम्तोको विषयमा थाहा थिएन, खाना पकाउनका लागि आलुको भुजिया काट्दै गर्दा असई साब आएर गालीगलौज गर्न थाले ।’ अगाडी भने, ‘गालीसम्म त ठीकै थियो तर असई साबले मुक्का, खुट्टा तथा लठीले निर्घात रुपमा कुट्न थाले ।’

असई महतोको कुटाईबाट घाइते भएका प्रहरी जवान पटेललाई उपचारका लागि जिल्ला अस्पतालमा लगिएको थियो । अहिले उनको स्वास्थ्य अवस्था सञ्चो छ ।

यता अस्थायी प्रहरीको पोष्टको ईन्चार्ज समेत रहेका असई महतोले कामको दवाब र तनावका बिच आफूले लठीले कुटेकोमा आफूलाई पछुतो रहेको बताए । उनले भने, ‘आफूले गाली गलौजका साथै एक लठी हिर्काउनु बाहेक केही गरेको छुइन ।’

यस अस्थायी प्रहरी पोष्टमा अहिले एक जना असई, २ जना हवल्दार र ५ जना प्रहरी जवान कार्यरत छन् ।