जनकपुर, फागुन २२
नेपाली कांग्रेस धनुषाको केन्द्रिय महाधिवेशन अन्तर्गत निर्वाचन सोमबार हुँदैछ । यस निर्वाचनमा विभिन्न ९१ पदका लागि २४० जना आकांक्षी उम्मेदवारहरु भिड्दैछन् ।
कांग्रेस धनुषामा ३ हजार १९७ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।
धनुषा जिल्लामा ३ जना नेताबिच प्रतिस्पर्धा हुने भएको छ । सभापति पदका लागि संस्थापन पक्षबाट एक जना र संस्थापन इतर पक्षबाट २ जना आकांक्षी उम्मेदवार रहेका छन् ।
संस्थापन पक्षबाट धनुषाका उपसभापति सन्तोष यादवले सभापति पदमा उम्मेदवारी दिएका छन् भने संस्थापन इतर पक्षबाट सभापतिका लागि क्षीरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख समेत रहेका योगेन्द्र पजियार र संविधानसभा सदस्य दिनेश प्रसैला यादव भिड्ने भएका छन् । पजियार नेता विमलेन्द्र निधि गुटका हुन् भने प्रसैला नेता शेखर कोइराला गुटका उम्मेदवार हुन् ।
उपसभापतिका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । उपसभापतिका लागि गणेश प्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा (धानुक), सुरेन्द्र प्रसाद चौधरी (मुन्ना), गणेश झा र लक्ष्मीनारायण यादव भिड्दैँछन् ।
सचिव पदमा ९ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार नरेश यादव, श्याम चन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर (शर्मा), धिरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत, दिपेन्द्र कुमार भडखेर र कन्हैया कुमार कर्ण भिड्दैँछन् ।
सहसचिवमा धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्र कुमार महतो, विजय कुमार यादव र मो. साकिर राइनलगायत ६ जना भिड्दैँछन् ।
काँग्रेस धनुषा निर्वाचन समितिका अधिकृत अरुण ज्ञवालीले सोमबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचनका लागि समय निर्धारण गरिएको बताए ।
निर्वाचमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवारले चुनाव जित्ने व्यवस्था रहेको छ । त्यस्तै ५१ प्रतिशतभन्दा कम मत ल्याएमा अथवा बराबर मत ल्याएमा दोस्रो पटक निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।