जनकपुर, फागुन २३

धनुषामा नागरिकता माग गर्दै चरणवद्धरुपमा आन्दोलन गरिरहँदा तीनजना यूवालाई प्रहरीले पक्राउ गरेका छन् ।

सोमबार धनुषाको ढल्केवर स्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्ने क्रममा इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएका प्रहरीले नागरिकता विहिन संघर्ष समिति नेपालका केन्द्रीय संयोजक इन्द्रजित साफीसहित तीन जनालाई पक्राउ गरेको हो ।

नागरिकता विहिन संघर्ष समिति धनुषाको मिथिला नगरपालिका समितिका अध्यक्ष कर्मवीर महतोले केन्द्रीय संयोजक साफी, रविन्द्र कुशवाहा र अशोक साहलाई इप्रका ढल्केवर प्रहरीले पक्राउ गरेको जानकारी दिए ।

 

इप्रका ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले पूर्व–पश्चिम लोकमार्ग विरोध प्रदर्शनको नाममा चक्का जाम गर्ने प्रयास गरेपछि तीन जनालाई नियन्त्रणमा लिएको बताए ।

संघर्ष समितिले जन्मसिद्ध नागरिकका सन्तालाई वंशजको आधारमा नागरिकता दिनु पर्ने र आमाको नामबाट समेत नागरिकता दिनु पर्ने मागसहित दवाव दिने उद्देश्यले सातदिने आन्दोलनको कार्यक्रम तय गरेको आन्दोलनकारीले जनाएको छ ।