जनकपुर, फागुन २३

सामाजिक सञ्जाल फेसबुकमा प्रेम गरेर विवाह गरी हत्या गरेको घटनामा थप एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–४ जमुवाका २६ वर्षीय मन्तोष कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवाष बुढाथोकीले जानकारी दिए ।

सिरहाको कर्जन्हा नगर–७ प्रेमनगरका २३ वर्षीय अमर राउतले काठमाण्डौ महानगरपालिका–२० जैसिदेबलकी २२ वर्षीया पुजा सिंहलाई फेसबुकमा प्रेममा पारेर मन्दिरमा विवाह गरेका थिए । गाउँ आएपछि अर्को विवाह गर्नका लागि युवकले आफ्नो पहिलो श्रीमतीलाई हत्या गरेको घटनामा अनुसन्धानको क्रममा साहलाई सोमबार पक्राउ गरिएको हो । जिल्ला अदालत सिरहाबाट कर्तब्य ज्यान मुद्दामा ५ दिनको म्याद लिई ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट थप अनुसन्धान भइरहेको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

यस अघि आइतवार मृतककी श्रीमान अमरलाई प्रहरीले सार्वजनिक गरेका थिए । हालसम्म यस घटनामा दुईजना पक्राउ परेपनि केही अन्य व्यक्तिहरु फरार रहेको र तिनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।