जनकपुर, फागुन २३
नेपाली कांग्रेस धनुषाको १४ औँ जिल्ला अधिवेशन अन्तर्गतको निर्वाचनमा २ हजार ९१२ मत मतदान भएको छ ।
कुल ३ हजार १७३ मतदाता मध्ये २६१ मत कम खसेको हो ।
सोमबार अबेर राति सम्पन्न निर्वाचनको मतगणना राति नै सुरु भएको छ । मंगलबार बिहानसम्म मतपरिणाम आउने निर्वाचन समितिले जनाइएको छ ।
जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा सोमबार बिहान ११ बजेदेखि सुरू भएको मतदानमा २ हजार ९१२ जनाले मत मतदान भएको निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए ।
धनुषा काँग्रेसको सभापतिमा ३, दुई उपसभापतिका लागि ६, दुई सचिवका लागि ९ र दुई जना सहसचिवका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । सभापतिमा योगेन्द्र पजियार, दिनेश प्रसैला र सन्तोष यादव वीच कडा प्रतिस्पर्धा छ ।
उपसभापतिका लागि गणेश प्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा (धानुक), सुरेन्द्र प्रसाद चौधरी (मुन्ना), गणेश झा र लक्ष्मीनारायण यादवले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी, सचिव पदमा नरेश यादव, श्यामचन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर (शर्मा), धीरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत, दिपेन्द्र कुमार भडखेर र कन्हैयाकुमार कर्णले उम्मेदवारी दिएका छन् ।
त्यस्तै सहसचिवमा धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्रकुमार महतो, विजयकुमार यादव र मो. साकिर राइनलगायतकाले उम्मेदवारी दिएका छन् ।
धनुषामा ९१ पदका लागि २४० उम्मेदवार प्रतिस्पर्धामा छन् । धनुषा कांग्रेसमा ३ हजार १७३ मतदाता छन् ।
धनुषाको क्षेत्र नम्बर १ बाट ८०१ मत मधये ७५३ मत, क्षेत्र नम्बर २ बाट ८३० मध्ये कुल ८०० मत, क्षेत्र नम्बर ३ बाट ७१० मध्ये ६६८ र क्षेत्र नम्बर ४ बाट ७०९ मध्ये ६९१ खसेको निर्वाचन समितिले जनाएको छ । यसरी कुल मत २ हजार ९१२ मत मतदान भएको छ ।
निर्वाचनमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवारले चुनाव जित्ने काँग्रेसको विधानमा व्यवस्था गरिएको छ । ५१ प्रतिशतभन्दा कम मत ल्याएमा अथवा बराबर मत ल्याएमा दोस्रो पटक निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।
सभापति पदका लागि तीन जना आकांक्षी उम्मेदवारी कडा प्रतिस्पर्धा देखिएकाले दोश्रो चरणको निर्वाचन मंगलबार हुने सम्भावना प्रबल रहेको काँग्रेस वृत्तमा चर्चा चुलिएको छ ।
त्यही भएर सोमबार मध्यरातमै भएपनि मतगणना सुरु गर्ने र विहानसम्ममा मतपरिणाम सार्वजनिक भएमा पुनः दोश्रो चरणको निर्वाचन आजै अबेर रातिसम्म सम्पन्न गरिने योजना निर्वाचन समितिको रहेको जनाइएको छ ।