जनकपुर, फागुन २४

मधेस प्रदेश सरकारले लामो समयदेखि खरिद गरेर थन्क्याइएका पाँच वटा परिवहनको हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

वीरगंज देखि राजविराजसम्म संचालनका लागि खरिद गरेका पाँच वटा बस आफै सञ्चालन नगरि संघ संस्थानलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो ।

आज बसेको मन्त्रीपरिषदको बैठकले खरिद गरिएको सो बसहरुलाई विभिन्न संघ संस्थाहरुलाई दिइने निर्णय गरेको मधेश सरकारको प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए । मन्त्रीपरिषदको सो बैठकले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई वटा, कृषि विश्वविद्यालय, कृषि तालिम केन्द्र धनुषा र प्रदेश प्रशिक्षण केन्द्रलाई एक÷एक वटा गरि कुल पाँचवटा बस हस्तान्तरण गर्ने निर्णय गरिएको प्रवक्ता साहले बताए ।

बस सञ्चालन गर्दा खर्चिलो हुने र कर्मचारीहरुको समेत व्यवस्था गरिनुपर्ने भएको हुनाले विभिन्न पुर्वाधारको विकास आवश्यक पर्ने भएकोले खरिद गरिएका बसहरुलाई सरकार मातहत रहेका संघ संस्थाहरुलाई हस्तान्तरण गर्ने छ ।

पूर्व भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले यातायात सेवा प्रदान गर्ने भन्दै ०७७ सालको धनतेरस दिन ३ करोड ९ लाख ८२ हजार रुपैयाँमा कार्यविधि नै बनाई हतार हतारमा पाँच वटा बस खरिद गरेको थियो ।

त्यस्तै मन्त्री परिषदको बैठकले सिरहाको लहानमा रहेको यातायाता व्यवस्था कार्यालयको सेवालाई विस्तार गर्दै राजविराजमा समेत याताया व्यवस्था कार्यालय खोल्ने निर्णय गरिएको मन्त्री साहले बताए ।

सो बैठकबाट युवा स्वरोजगार उद्योग कार्यक्रमको कार्यविधिलाई स्वीकृति प्रदान गरिएको उनले जनाए ।