धनुषा, फागुन २४
धनुषामा अवैध सालको काठ वन कार्यालयले बरामद गरेको छ ।
डिभिजन वन कार्यालयले जिल्लाको धनुषाधाम नगरपालिका–६ मालटोलस्थित खेतबारीमा लुकाई छिपाई राखेको अवस्थामा पाँच ट्याक्टर अवैध सालको काठ बरामद गरेको हो ।
डिभिजन वन कार्यालयका डिभिजनल प्रमुख सुनिलकुमार कर्णले दिएको जानकारी अनुसार धनुषाको मालटोलस्थित खेतबारीमा लुकाई छिपाई राखिएको अवस्थामा पाँच ट्याक्टर अवैध सालको काठ नियन्त्रणमा लिएको छ । उनले २५५.०९ क्यूफिट काठ बरामद भएको भएको बताए । जसमा १८१ थान गोलिया र चार थान चिरान गरी १८५ थान काठ रहेको छ ।
डिभिजनल प्रमुख कर्णले वन कार्यालय धनुषाले यति ठूलो मात्रा अवैध सालको काठ बरामद गरेको यो पहिलो घटना भएको दावीसमेत गरे । उनले भने, ‘बढीमा २० थानसम्म अवैध काठहरु बरामद भएको जिल्लामा तथ्याङ्क छ । ठूलो परिमाणमा अवैध काठ बरामद भएको यो नै पहिलो पटक हो ।’
वन कर्मचारी, जनपद प्रहरी, शसस्त्र प्रहरी र स्थानीय सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीको सहयोग काठ नियन्त्रणमा लिन सफल भएको बताउँदै डिभिजनल प्रमुख कर्णले बरामद गरिएको काठ सव डिभिजन वन कार्यालय पुष्पवलपुरमा राखिएको जानकारी दिए ।
वनबाट काठ कटान गर्नेहरुको पहिचान पत्ता लगाउन कर्मचारी खटाएको र पहिचान खुलेपछि संलग्नहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउने डिभिजनल प्रमुख कर्णले भने ।