जनकपुर, फागुन २४
धनुषा कांग्रेसको १४ औँ जिल्ला अधिवेशन अन्तर्गतको निर्वाचन मतगणना सुरु भएको छ ।
निर्वाचन समितिले मतगणनाका लागि सबै पक्षसँगको बैठकबाट निर्धारण गरिएको मापदण्ड अनुरुप सहमति भएपश्चात मतगणना सुरु भएको हो ।
धनुषा काँग्रेसको सभापति पदमा तीन जना मध्ये दुई जनाको कडा प्रतिस्पर्धा छ ।
पहिलो चरणमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना हुँदा ३० मतले सन्तोष यादव अगाडी थिए भने धनुषाको क्षेत्र नम्बर ३ को मतपेटिका खुलेपछि योगेन्द्र पंजियारले अग्रसरता लिएको छ ।
पँजियारले ५६० मतले अघि छ भने सन्तोष यादवले ३६१ र दिनेश प्रसौलाले १०० मत प्राप्त गरेका छन् । अहिलेसम्ममा ७२ मत बदर भएको निर्वाचन समिति धनुषाका निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जनाएको छ ।
सोमबार अबेर राति सम्पन्न निर्वाचनको मतगणना राति नै सुरु हुने भनिएपनि विभिन्न आन्तरिक समस्याका कारण मंगलबार दिउँसोबाट सुरु हुने निर्वाचन समितिले जनाएको छ । मंगलबार अबेर साँझसम्ममा मतपरिणाम आउने निर्वाचन समितिले जनाएको छ ।
जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा सोमबार बिहान ११ बजेदेखि सुरू भएको मतदानमा २ हजार ९१२ जनाले मतदान गरेको निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए । धनुषा काँग्रेसका ३ हजार १७३ मतदाता रहेका छन् ।
धनुषा काँग्रेसको सभापतिमा ३, दुई उपसभापतिका लागि ६, दुई सचिवका लागि ९ र दुई जना सहसचिवका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । सभापतिमा योगेन्द्र पजियार, दिनेश प्रसैला र सन्तोष यादव वीच कडा प्रतिस्पर्धा छ ।
धनुषाको क्षेत्र नम्बर १ बाट ८०१ मत मधये ७५३ मत, क्षेत्र नम्बर २ बाट ८३० मध्ये कुल ८०० मत, क्षेत्र नम्बर ३ बाट ७१० मध्ये ६६८ र क्षेत्र नम्बर ४ बाट ७०९ मध्ये ६९१ खसेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवारले चुनाव जित्ने काँग्रेसको विधानमा व्यवस्था गरिएको छ । ५१ प्रतिशतभन्दा कम मत ल्याएमा अथवा बराबर मत ल्याएमा दोस्रो पटक निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।
सभापति पदका लागि तीन जना आकांक्षी उम्मेदवारी कडा प्रतिस्पर्धा देखिएकाले दोश्रो चरणको निर्वाचन हुनसक्ने सम्भावना प्रबल रहेको काँग्रेसीजनमा चर्चा छ ।