अब दोश्रो चरणमा सभापति पदको टुंगो लाग्ने
जनकपुर, फागुन २५
धनुषा काँग्रेसको मत परिणाम बहुमतीय प्रणाली अनुसार सभापति पदका उम्मेदवार योगेन्द्र पँजियारले भारी मत ल्याएपनि निर्वाचित भने हुन सकेनन् ।
विजयी हुनका लागि नेपाली कांग्रेस विधानमा व्यवस्था गरिए बमोजिम ५१ प्रतिशत मत ल्याउनु पर्ने हुन्छ ।
तर तीन जना मध्ये कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा निर्वाचन अब दोस्रो चरणमा सहमतिका लागि अन्तिम प्रयास वा पुनः निर्वाचन हुने भएको छ । पहिलो चरणको मतपरिणाममा सभापतिका उम्मेदवार समेत रहेका क्षीरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख योगेन्द्र पजियारले १ हजार २४८ मत ल्याउँदै अग्रस्थान ओगट्न सफल भएका छन् ।
सोमबार भएको निर्वाचनमा कुल ३ हजार १७३ मतदाता रहेकोमा २ हजार ९१२ मतदाताले मतदान गरेका थिए । जसमध्ये योगेन्द्र पजियार अग्रस्थानमा रहँदै १ हजार २४८ मत ल्याउन सफल भए भने अर्का प्रतिद्वन्दी सन्तोष यादवले ८८३ मत ल्याए । त्यस्तै दिनेश पसाद यादव प्रसैलाले ६३० मत प्राप्त गरे । भने १५१ वटा मत बदर समेत भएको छ ।
पहिलो चरणबाट टुंगो लाग्न नसकेपछि अन्तिम पटक सर्वसम्मति वा पुनः निर्वाचन गर्नुपर्ने निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए ।
ऋबको चुनावी प्रतिस्पर्धाबाट दिनेश प्रसैला बाहिरियो भने अग्रस्थान मत ल्याउन सफल भएका योगेन्द्र पँजियार र उनका निकटतम प्रतिद्वन्दी सन्तोष यादवबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।