एजेन्सी, फागुन २५

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देश रुसविरुद्धको लडाइ लड्ने बताएका छन् । बेलायतको संसद हाउस अफ कमन्समा बोल्दै जेलेन्स्कीले युद्ध अन्त्य नहुने बेलासम्म युक्रेन रुसविरुद्ध लडिरहने प्रतिबद्धता जनाए ।

उनले भने, ‘हामीले आत्मसमर्पण गर्दैनौँ । हाम्रो भूमिका लागि निरन्तर लडिरहनेछौं ।’ रुसविरुद्धको लडाइमा आफूहरु जंगल, मैदान, समुद्री किनार र सडकबाटसमेत लड्न तयार रहेको उनले बताए ।

जेलेन्स्कीले सम्बोधन गर्नुअघि बेलायतले सन् २०२२ को अन्त्यसम्म रुसी तेलको आयात नगर्ने समेत बताएको थियो ।

त्यस्तै किभले पछिल्लो २४ घण्टामा शत्रुले आफ्नो आक्रामक कारवाहीको गतिलाई सुस्त बनाएको राष्ट्रपति जेलेन्स्कीले दाबी गरेको छ । रुसी सेनामाथि सशक्त प्रतिकार गरेको बताइरहेका बेला युक्रेनको पछिल्लो भनाई आएको हो ।

‘पछिल्लो २४ घण्टामा शत्रुले आफ्नो आक्रामक कारवाहीको गतिलाई सुस्त बनाएको छ । मुख्यतया नागरिक पूर्वाधारमा मिसाइल र बम हमलाको सहारा लिएको छ । युक्रेनको सशस्त्र फौजले एक विज्ञप्तिमा भनेको छ । रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ ।

रुसले किभ, सुमी, खारकिभ, मारिओपोललगायतका शहरहरुलाई निरन्तर घेरा हालेको पनि युक्रेनी सेनाले जनाएको छ ।