एजेन्सी, फागुन २५

भारतको राजधानी दिल्लीमा सरकारमा रहेको आम आदमी पार्टी (आप) ले अर्को राज्य पञ्जाबमा पनि सरकार बनाउने सम्भावना प्रबल रहेको छ ।

पञ्जाब विधान सभाका लागि फेब्रुअरी २० मा भएको चुनावमा आपले बहुमत ल्याउने विभिन्न एक्जिट पोलहरूबाट देखाएको छ ।

सोमबार सार्वजनिक भएका लगभग सबै एक्जिट पोलका नतिजामा पञ्जाबमा आपले धेरै सिट जित्ने जनाएको छ ।
हिन्दुस्तान टाइम्सका अनुसार द इन्डिया टुडेको एक्जिट पोलले ११७ मध्ये ७६ देखि ९० सिट आपले जित्ने देखाएको हो ।

पञ्जाबमा लामो समयदेखि कंग्रेस आईको सरकार छ। एक्जिट पोलहरूले अहिलेको चुनावमा कांग्रेस दोस्रो ठूलो दल हुने देखाएका छन्।

आपले पञ्जाबमा जनतालाई सोधेर मुख्यमन्त्रीका उम्मेदवार छानेको थियो ।

आपले नयाँ मुख्यमन्त्री कसलाई बनाउने भनेर जनताबाट राय मागेको थियो ।

अभियानमा सहभागीहरू भागवान्त मनलाई मुख्यमन्त्री बनाउनु पर्ने बताएका थिए ।

करिब २२ लाख आममानिस अभियानमा आफ्नो राय व्यक्त गरेको र तीमध्ये ९३ प्रतिशत मत भागवान्तको पक्षमा आएको बताइएको थियो ।

भागवान्त सन् २०१४ देखि लोकसभा सदस्य छन् । सन् २०१९ को चुनाव पञ्जाबबाट लोकसभा चुनाव जित्ने उनी एकमात्र आप उम्मेदवार हुन् ।

आपले सन् २०१७ को विधान सभा चुनावमा पनि पन्जाबमा लडेको थियो। त्यतिबेला पहिला नै मुख्यमन्त्रीका उम्मेदवार घोषणा गरेको थिएन । आपले पाँच वर्षअघिको चुनावमा विधान सभाका २० सिट जितेको थियो ।

आपले मुख्यमन्त्रीका उम्मेदवार बनाएका भागवान्त ४८ वर्षका छन् । राजनीतिमा आउनुभन्दा पहिला उनी कमेडियन थिए ।
सन् २०१२ मा उनी राजनीतिमा आएका थिए। सुरूमा उनी पञ्जाब पिपल पार्टीमा आवद्ध थिए । सो पार्टीबाट विधान सभा चुनाव जित्न नसकेपछि भागवान्त सन् २०१४ मा आपमा आवद्ध भएका थिए ।

पञ्जाब विधान सभाको अन्तिम चुनावी परिणाम बिहीबार सार्वजनिक हुँदैछ ।