जनकपुर, फागुन २५

धनुषा काँग्रेसको नेतृत्वका लागि दोस्रो चरणको निर्वाचन हुनु अघि नै सहमतिका विभिन्न प्रयास जारी रहेको नेता विमलेन्द्र निधिले जनाएका छन् ।

सो क्रममा नेपाली कांग्रेस धनुषाको नेतृत्वका लागि दोस्रो चरणको निर्वाचनमा शेखर कोइराला समूहले नेता निधि समूहलाइ समर्थन गर्ने भएको छ ।

पहिलो चरणमा चुनावी प्रतिस्पर्धाबाट शेखर कोइराला समूहको सभापती पदका उम्मेदवार दिनेश प्रसैला यादवले निधि समूहका उम्मेवार योगेन्द्र पजियारलाइ समर्थन गरेका हुन । कांग्रेस धनुषाका लागि दोस्रो चरणको निर्वाचनको पूर्व सन्ध्यामा सर्वसहमति गराउने प्रयास विफल भएपछि सभापति पदका उम्मेदवार प्रसैलाले पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएका पँजियारलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

जनकपुरधाम स्थित मिल्स एरियामा रहेको नेता निधिको घरमा भएको छलफलपछि प्रसैलाले पँजियारलाई समर्थन गरेका हुन् ।
प्रसैला समूहले सर्वाधिक मत ल्याएका पजियारहको समूह र दोस्रो स्थानमा रहेका देउवा समूहको उम्मेदवार संतोष यादवबिच सहमति गराउने प्रयास गरेका थिए । तर देउवा समूह सहमतिका लागि तयार नभएपछि तीन वटै समूहको दौडधूप शुरु भएको थियो ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि स्वयंले आफ्नो उम्मेदवारका लागि दौडधूप शुरु गरेपछि अन्ततः शेखर कोइराला समूह समर्थनका लागि तयार भएको हो । निधिसंग दुई कोइराला समूहबाट नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामकृष्ण यादव, डा. चन्द्रमोहन यादव, सभापति पदका उम्मेदवार प्रसैला लगायतका नेताहरु छलफल गरेका थिए ।

हुनत देउवा समूहले पनि कोइराला समूहका उम्मेदवार प्रसैलालाई फकाउने प्रयास गरेको थियो । तर देउवा समूहसंग सहमति नजुटेपछि निधि समूहलाई समर्थ गर्ने निर्णय गरिएको हो ।

कोइरला समूहका नेता रामकृष्ण यादवले पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत ल्याएका उम्मेदवार पजियारलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिए । उनले भने ‘हामीले सर्वसहमति गराउने प्रयास गरेकै हो तर सर्वसहमति हुन सकेन ।’ अगाडी भने ‘सहमति नजुटेपछि सबैभन्दा बढी मत ल्याएका उम्मेदवारलाई समर्थन गर्नु हामीलाई उचित लाग्यो ।’

पहिलो चरणको निर्वाचन मतपरिणाम अनुसार दिनेश प्रसाद प्रसैला यादव चूनावी प्रतिस्पर्धाबाट बाहिरि सकेका छन् ।
नेपाली कांग्रेस धनुषाको नयाँ नेतृत्वका लागि गत मंगलबार अबेर राती भएको मतगणनामा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोस्रो चरणमा बिहीबार पुनः निर्वाचन हुन लागेको हो ।

सोमबार भएको निर्वाचनमा कुल ३ हजार १सय ७३ मतदाता रहेकोमा २ हजार ९ सय १२ जनाले मत खसाएका थिए । खसेको मतमध्ये योगेन्द्र पजियार अग्रस्थानमा रहँदै १ हजार २ सय ४८ मत ल्याएका छन् भने सभापतिका अर्का प्रतिद्वन्दी संतोष यादवले ८ सय ८२ मत ल्याएका थिए । त्यस्तै, दिनेश प्रसैलाले ६ सय ३० मत मात्र प्राप्त गरेका थिए ।