जनकपुर, फागुन २५
नेपाली कांग्रेसको संस्थापन पक्षले निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै असन्तुष्ट पक्षले समानान्तर जिल्ला समिति गठन गरेका छन् । गत सोमबार भएको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै मतदान बहिष्कार गरेको संस्थापन इतरको समूहले सभापतिका प्रत्यासी रामसुन्दर चौधरीको नेतृत्वमा समानान्तर समिति घोषणा गरेका हुन् ।
जिल्ला समन्वय समिति सिरहाको समिक्षालय भवनमा असन्तुष्ट पक्षको बैठक बसेर चौधरी नेतृत्वको प्यानललाई नै कार्य समिति घोषणा गरेको हो । जिल्ला कार्यसमिति घोषणा गर्दै निर्वाचनमा धाँधली गरेर निर्वाचित भएको भन्दै पार्टी सभापति शेरबहादुर देउवा समूहका रामचन्द्र यादव नेतृत्वको कार्यसमितिलाई नमान्ने निर्णय पनि गरेको छ ।
दुई तिहाइ प्रतिनिधि आफ्नो पक्षमा भए पनि रामचन्द्र यादवले शक्ति र प्रहरी प्रशासनको आडमा निर्वाचनमा धाँधली गरेर निर्वाचित भएको चौधरी पक्षको आरोप छ । यो चुनाव रद्द गरेर नयाँ निर्वाचन सदरमुकाममा गरिनुपर्ने माग उनीहरूले गरेका छन् ।
पुनः निर्वाचन नभएमा आफूहरूले सबै गतिविधि यही समितिमार्फत सञ्चालन गर्ने महासमिति सदस्य डा. सुभाचन्द्र यादवले बताए। चुनावमा धाँधली भएको भन्दै चौधरी पक्षले मतदान चलिरहेकै वेला सोमबार साँझ ६ बजे नै मतदान बहिष्कार गरी नाराजुलुस गर्दै विरोधमा उत्रिएका थिए ।
निर्वाचनमा धाँधली गराउनुमा गृहमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य मञ्जु खाणको मुख्य भूमिका रहेको चौधरी पक्षको आरोप छ । जसमा सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाको सहयोग रहेको महासमिति सदस्य डा. यादवले आरोप लगाए ।