काठमाण्डौ, फागुन २६

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजीनामा मागेको भन्दै नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले आपत्ति जनाएको छ ।
सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट प्राध्यापक संघले विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेका थिए ।

महिनौदेखि विश्वविद्यालयमा तालाबन्दी हुँदा पनि नबोल्ने, त्रिवि सेवा आयोगका परीक्षा स्थगित गर्न दबाब दिने र आफूनिकट प्राध्यापकलाई लाभको पदमा नियुक्तिका लागि दबाब दिने ती संगठन विश्वविद्यालयका हितमा नरहेको अनेरास्ववियुको भनाइ छ ।

अनेरास्ववियुका त्रिवि इन्चार्ज मदन विष्ट र संयोजक अम्मरराज जोशीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनताको रगत र पसिनाबाट तिरेको करबाट तलब भत्ता खाएका व्यक्तिहरुले त्यही जनताको संस्थालाई धरासायी बनाउन उद्यत रहनु प्राज्ञिक र राजनीतिक रुपले अनैतिक छ ।’
अनेरास्ववियुले त्रिविका हरेक समस्या संवाद र छलफलबाट समाधान गर्न सकिने पनि सुझाव दिएको छ ।