बारा, फागुन २६
नेपाली काँग्रेस बाराको सभापति पदका लागि दोश्रो चरणको निर्वाचन हुने भएको छ ।
काँग्रेस बाराको १४ औं अधिवेशन अन्तर्गत जिल्ला सभापतिसहितको कार्य समिति चयन गर्न बुधवार कलैयामा भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत आउन नसकेपछि दोश्रो चरणको निर्वाचन हुन लागेको हो ।
बिहीबार बिहान सम्पन्न मतपरिणाम अनुसार सभापतिमा ८ सय ३३ मत प्राप्त गरेर राजेश राय यादव प्रथम, ८ सय ९ मत प्राप्त गरेर शम्भु बहादुर बुढाथोकी दोश्रो र ७ सय ८ मत प्राप्त गरेर रामानन्द यादव तेश्रो स्थानमा प्राप्त गरेका छन् ।
दोस्रो चरणमा राजेश राय यादव र शम्भुबहादुर बुढाथोकी बीच प्रतिस्पर्धा हुने छ । भने दुवै संस्थापन पक्षकै उम्मेदवार हुन् । राजेश रायले बारा निर्वाचन क्षेत्र नं. १ बाट ६६, क्षेत्र नं. २ बाट ३ सय ४५, क्षेत्र नं. ३ बाट एक सय ९१ र क्षेत्र नं. ४ बाट २ सय ३१ मत प्राप्त गरेका छन् ।
त्यस्तै बुढाथोकीले निर्वाचन क्षेत्र नं. १ बाट ३ सय २१, क्षेत्र नं. २ बाट एक सय ९०, क्षेत्र नं. ३ बाट एक सय ५४ र क्षेत्र नं. ४ बाट एक सय ४४ मत प्राप्त गरेका छन् । यसैगरी रामानन्दले निर्वाचन क्षेत्र नं. १ बाट २ सय ३२, क्षेत्र नं. २ बाट एक सय २६, क्षेत्र नं. ३ बाट २ सय ३२ र क्षेत्र नं. ४ बाट एक सय १८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी क्षेत्र नं. १ मा खसेको ६ सय २७ मत मध्ये ५ वटा मत बदर भएको भएको छ भने २० जनाले मतदान गरेनन् । क्षेत्र नं. २ मा खसेको ६ सय ७४ मत मध्ये ४ वटा मत बदर भएको छ भने २४ जना मतदाताले मतदान लिएनन् ।
त्यस्तै क्षेत्र नं. ३ मा खसेको ५ सय ९४ मत मध्ये १५ वटा मत बदर भएको छ भने १२ जना मतदाताले मतदान गर्न आएनन् । यसैगरी क्षेत्र नं. ४ मा खसेको ५ सय ५ मत मध्ये ७ वटा मत बदर भएको छ भने २५ जना मतदाताले मतदान गर्न नआएको निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिए ।
उनले चारवटै निर्वाचन क्षेत्रबाट गरी कुल २ हजार ४ सय ८१ मत मध्ये २ हजार ४ सय मत खसेको जानकारी दिए । सभापति पदका लागि त्रिपक्षीय भिडन्तमा संस्थापन पक्षका दुई उम्मेदवार राजेश राय यादव र शम्भु बुढाथोकी तथा कृष्ण प्रसाद सिटौला पक्षका उम्मेदवार रामानन्द प्रसाद यादवले बुधवार आ आफ्नो प्यानल बनाएर मत मागेका थिए ।