
एजेन्सी, फागुन २६
भारतको पञ्जाब प्रान्तको विधान सभा चुनावमा आम आदमी पार्टी (आप) ले दुई तिहाइ भन्दा बढी सिट जित्न सफल भएको छ ।
बिहीबार पाँच वटा भारतीय राज्यमा विधान सभा चुनावको मतगणना हुँदैछ । जसमध्ये पञ्जाबमा अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले दुई तिहाइ बढी बहुमत ल्याएको हो ।
टाइम्स अफ इन्डियाको अनुसार ११७ सिटमध्ये आपले ९२ सिट जितेको छ । पञ्जाबमा सरकार बनाउन ५९ सिटको मात्रै आवश्यकता छ । तर आपले भने झन्डै ७९ प्रतिशत सिट जितेको छ ।
पञ्जाबमा हाल कंग्रेस आईको सरकार छ । कंग्रेस आइले जम्मा १८ सिटमात्रै जितेको छ । सिरोमनी अकेली दल (एसएडी) ले तीन सिट, भारतीय जनता पार्टी (भाजपा) ले दुई सिट र अरूले दुई सिट जित्न सफल भएको छ । मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ।
जीतपछि आम आदमी पार्टीका अध्यक्ष केजरीवालले पञ्जाबका जनतालाई धन्यवाद दिएका छन् ।
उनले भने, ‘पञ्जाबका जनताले गज्जब गरे । हामी सबै तपाईंहरूलाई माया गर्छौं, पन्जाब ।’ उनले आब आपको क्रान्ति देशभर फैलिने भने ।
कंग्रेसका पूर्व–मुख्यमन्त्री अमरिन्दर सिंह, कंग्रेस पन्जाब राज्यका अध्यक्ष नवजोतसिंह सिद्धू र मुख्यमन्त्री समेत रहेका चरञ्जित चन्नी पराजित भएका छन् ।
सन् २०१७ मा भएको विधान सभा चुनावमा कंग्रेसले ७७ सिट जितेको थियो ।
पार्टीको आन्तरिक विवाद सम्हाल्न नसक्दा केही महिनाअघि मात्रै मुख्यमन्त्री अमरिन्दर सिंहले पार्टी त्यागेका थिए । विभाजित भएको कंग्रेस १८ सिटमा खुम्चिन पुगे ।
कंग्रेसका नेता राहुल गान्धीले जनताले गरेको निर्णयलाई नम्रताका साथ स्वीकारेको जनाएका छन् ।
उनले बिहीबार ट्विट मार्फत विधान सभा चुनावमा जितेका नेताहरूलाई बधाई समेत दिएका छन् ।
आपले सन् २०१७ को विधान सभा चुनावमा पनि पञ्जाबमा लडेको थियो । त्यतिबेला पहिला नै मुख्यमन्त्रीका उम्मेदवार घोषणा गरिएको थिएन । आपले पाँच वर्षअघिको चुनावमा विधान सभाका २० सिट जितेको थियो ।
आपले मुख्यमन्त्रीका उम्मेदवार बनाएका भागवन्त ४८ वर्षका भए। राजनीतिमा आउनुभन्दा पहिला उनी कमेडियन थिए ।
सन् २०१२ मा उनी राजनीतिमा आएका थिए। सुरूमा उनी पन्जाब पिपल पार्टीमा आवद्ध भएका थिए । उक्त पार्टीबाट विधान सभा चुनाव जित्न नसकेपछि भागवन्त सन् २०१४ मा आपमा लागेका थिए ।
भागवन्त सन् २०१४ देखि लोकसभा सदस्य छन् । सन् २०१९ को चुनाव पन्जाबबाट लोकसभा चुनाव जित्ने उनी एकमात्र आप उम्मेदवार हुन् ।