वीरगंज, फागुन २६
सत्तारुढ जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी नेकपा एमालेमा प्रवेश गर्ने हल्ला चलेको छ । यससम्बधमा अहिलेसम्मपनि वीरगञ्ज महानगरका मेयर सरावगीले यसबारे केहिपनि प्रतिक्रिया नआउँदा ठुलै अर्थ लागेको स्थानीय राजनीतिक विश्लेषकहरुको भनाइ छ ।
मेयर सरावगी केही दिन भित्रै जनता समाजवादी (जसपा) पार्टी त्यागेर नेकपा एमाले प्रवेश गर्न लागेका एमाले स्रोतले जनाएको छ । तर मेयर सरवागी निकटकाहरुले भने एमाले अध्यक्षसंग नाम जोडेर विभिन्न खाले हल्ला उडेको भन्दै स्वीकारे छन् ।
जसपा त्यागेर नेकपा एमाले प्रवेश गर्ने विषयमा सरावगीले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलसमेत गरेको एमाले स्रोतको भनाइ छ । मंगलबार सरावगीले ओलीसँग काठमाडौँमा भेटघाट गरेर पार्टी प्रवेश र आगामी स्थानीय तहको निर्वाचनमा एमालेबाट लड्ने विषयमा छलफल गरेको स्रोतको दावी छ । सरावगी हाल जसपाको केन्द्रीय सदस्य छन् ।
नेकपा एमालेका जिल्ला अध्यक्ष एवम् इन्चार्ज प्रभु हजराले समेत मेयर सरावगी पार्टी प्रवेश गर्न लागेको पुष्टि गरेका छन् । हजराका अनुसार बारा जिल्लामा एमाले अध्यक्ष केपी ओलीको उपस्थितिमा फागुन २८ गते हुने कार्यक्रममा सरावगीलाई पार्टीमा स्वागत गरिने तयारी रहेको छ । त्यसपश्चात चैत ८ गते वीरगञ्जमा पुनः केपी ओलीकै उपस्थितिमा हुने पार्टी प्रवेश कार्यक्रममा उनले एमाले प्रवेश गर्ने सहमति भएको हजराले यात्राडेलीलाई बताए ।
तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित मेयर सरावगी यसअघि नेपाली काङ्ग्रेसमा प्रवेश गरेर वीरगञ्जको मयेर लड्ने चर्चा चलेपनि भर्खरै सम्पन्न काङ्ग्रेसको १४ औँ अधिवेशनमा संस्थापन पक्ष विजयी भएपछि उनको काङ्ग्रेस प्रवेश गर्ने बाटो बन्द भएको हो । सरावगी काङ्ग्रेसको संस्थापन इतर पक्षसँग पार्टी प्रवेश गर्ने बारे छलफलमा थिए । तर, संस्थापन पक्षबाट निर्वाचित जिल्ला सभापति जनार्दन सिंह क्षेत्र सरावगीलाई काङ्ग्रेसबाट टिकट नदिने पक्षमा उभिएको स्रोतको भनाई छ । त्यसैगरी काङ्ग्रेस पर्साका अन्य प्रभावशाली नेता पनि सरावगीलाई काङ्ग्रेसमा ल्याउने पक्षमा छैनन् ।
जसपामा स्थानीय नेता र कार्यकर्ताहरुले असहयोग गरेको कारण सरावगीले यस पटक अन्य पार्टीबाट स्थानीय तहको निर्वाचन नलड्ने सोच बनाएको बुझिएको हो । समय–समयमा उनले यो कुरा सार्वाजनिक रुपमै भन्ने गरेका छन् ।
यता, टिकट पाउने आश्वासनमा वीरगञ्ज महानगरपालिकाको मेयरका अर्का प्रत्यासी राजेशमान सिंह यसअघि नै लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) परित्याग गर्दै एमाले प्रवेश गरिसकेका छन् ।
Copyright © 2024, सर्वाधिकार सुरक्षित | Developed By ProTech