
जनकपुर, फागुन २६
मिथिला मध्यमा परिक्रमाका यात्रुले कञ्चनवनमा पुगेर एकअर्कालाई अबिर दलेर होली मनाएका छन् ।
भगवान राम र सीताले त्रेता युगमा एक अर्कालाई रंग दलेर होली खेलेको सम्झनामा महोत्तरीको कञ्चनवनमा मिथिला मध्यमा परिक्रमाका सहभागीहरुले होली खेलेका हुन् ।
प्रत्येक वर्षझैं यसवर्ष पनि माध्यमिकी परिक्रमामा मिथिला बिहारीको डोलासँगै कञ्चनवन पुगेका सहभागीहरुले एकअर्कालाई रंग, अबिर दलेर होली पर्व मनाएका छन्। कञ्चनवनमा परिक्रमाका सहभागीहरुले रंग र अबिर खेलेपछि मिथिलाञ्चलमा होली पर्वको आगमन भएको मानिन्छ ।
परिक्रमा डोला कञ्चनवनमा पुगेपछि होली खेल्ने परम्परा रहेको संस्कृतिविद्हरु बताउँछन्। त्यहाँको होली मिथिलाञ्चलका अधिकांश मठमन्दिरका महन्थ, सामाजिक, सांस्कृतिक, राजनीतिक क्षेत्रमा आवद्ध व्यक्तिहरुको सहभागिता हुन्छ ।
फागुन शुक्ल प्रतिपदाबाट सुरु भएको मिथिला मध्यमा परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला बिहारीको डोलासँगै ध्रुवकुण्डबाट कञ्चनवन पुग्ने गर्छ। यहाँ इच्छावती, गंगा र वीरजा गङ्गाको संगमस्थलसमेत रहेको छ ।
इच्छावती नदीले भगवान रामलाई होली उत्सव मनाउन सहयोग गरेको जनविश्वास रहेको पाइन्छ। यो स्थानमा भगवान राम र जानकीले होली पर्व मनाएको विश्वास गरिन्छ ।
कञ्चनवनको होलीको प्राचीनतालाई देखेर विगत केही वर्षयतादेखि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले होली महोत्सव मनाउँदै आएको छ ।
जनकपुरधामको हनुमान नगरबाट डोलासहित हिँडेको परिक्रमा कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड घुमेर कञ्चनवन पुगेको हो ।