
जनकपुर, फागुन २६
मधेश प्रदेशमा अझैपनि सुत्केरी महिलाहरु पहुँचकै नभएकै कारण स्वास्थ्य संस्थासम्म जाने बारे अन्योल कायमै रहेको देखिएको छ ।
मधेश प्रदेशको ५ जिल्लालाई लक्षित गरेर विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य क्षेत्रमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको निरन्तरता परियोजनाले सहयोग गर्ने भएका छन् ।
पीएसआइ नामक अमेरिकी गैरसरकारी संस्थाले मातृ स्वास्थ्य र नवजात शिशुको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले यो परियोजना मधेश प्रदेशका १ सय ४० वटा स्वास्थ्य संस्थाहरुलाई परियोजना मार्फत सहयोग गर्ने भएको छ ।
मधेश प्रदेशको धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सर्लाही गरी ५ जिल्लाका विभिन्न २६ वटा पालिकाहरुमा यो परियोजना लागु हुनेछ । ती पालिकाहरुको स्वास्थ्य चौकी, वर्थिंग सेन्टर, आधारभूत आकस्मिक प्रसुति तथा नवजात शिशु सेवा केन्द्रलाई आवश्यक्ता अनुसार सहयोग गर्ने पीएसआईले जानकारी दिए ।
मातृ तथा शिशुको स्वास्थ्य अवस्थामा अझै पनि सुधार नआएको, प्रसुति गराउनका लागि अझै पनि स्वास्थ्य संस्थाहरुमा पुग्नेहरुको संख्या कम रहेकाले यस प्रकारका परियोजनाहरुको आवश्यक्ता रहेको वक्ताहरुको जोड छ ।
मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको निरन्तरता परियोजनाको शुभारम्भ कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह, मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा, सामाजिक विकास मन्त्रालयका सचिव इमनारायण श्रेष्ठ लगायतकाले बोलेका थिए ।