वीरगञ्ज, फागुन २६
प्रधानमन्त्री शेरबहादुर देउवाले अगामी स्थानीय तहसम्म गठबन्धनले नै निरन्तरता पाउने संकेत गरेका छन् ।
बिहिबार पर्साको वीरगञ्जमा एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति देउवाले एक्लै कुनैपनि पनि पार्टीले बहुमत ल्याउन सक्ने अवस्था नरहेकोले स्थानीय तहको निर्वाचनमा समेत गठबन्धन मिलेर जान सक्ने बताएका हुन् ।
काँग्रेस जिल्ला कार्यसमिति पर्साले वीरगञ्जमा आयोजना गरेको प्रमाण पत्र वितरण तथा पदस्थापन कार्यक्रममा उनले गठबन्धनको सहयोगले आफू प्रधानमन्त्री भएको बताउँदै भने, ‘गठबन्धनका साथिहरुको सहयोगले म प्रधानमन्त्री भएको हुँ । त्यसैले आउँदो स्थानीय तहदेखि माथिल्लो तहसम्मको चुनावमा हामीहरु बीच छलफल हुन्छ । सँगै मिलेर चुनाव लड्न सक्छौ ।’
मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेकाले बाध्यतावश चाहना नभएर पनि प्रजातन्त्रको मूल्य मान्यतालाई बचाइ राख्न प्रधानमन्त्री भएको देउवाको जिकिर गरे ।
उनले सहमति र सहकार्य गरेर अगाडी बढ्नुको विकल्प नरहेको बताउँदै उनले गठबन्धनका साथीहरुलाई बिना काम जिस्क्याउने काम नगर्न पनि सुझाव दिएका छन् ।
त्यस्तै पर्साको पोखरिया नगरपालिकाका नगरप्रमुख दिपनारायण रौनियार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्री देउवाले टिका र माला लगाएर पार्टीमा स्वागत गरे ।