जनकपुर, फागुन २६
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीबाट स्थानीय तहमा उम्मेदवार बन्नेहरूलाई मन्दिर लगेर देउता कसम खुवाउने भएका छन् ।
बिहिबार मोरंगको सुन्दर हरैंचामा आज आयोजित पार्टी प्रवेश तथा आमसभा कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले सुशासनका लागि, जनताप्रति उत्तरदायी बन्नका लागि र देशहितमा काम गर्नका लागि उम्मेदवारले अनिवार्य रूपमा कसम खानुपर्ने बताएका हुन् ।
उनले भने, ‘राप्रपाको टिकट लिन आउनुभन्दा अगाडि आफ्नो निर्वाचन क्षेत्रको कुनै पनि ठाउँको मन्दिरमा गएर कसम खाएर आउनु पर्नेछ ।’
त्यस्तै कार्यक्रममा बोल्दै राप्रपाका नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई पार्टीले कहिल्यै पनि टिकट नदिने घोषणा गरे । उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्नेमा जोड दिएका थिए ।
नेता शाहीले भ्रष्टाचारको अन्त्य गर्नका लागि संघीयता प्रदेशको खारेजी प्रमुख शर्त रहेको कुरामा जोड दिएका थिए । सोही कार्यक्रममा मन्तव्य दिँदै राप्रपाकी नेतृ तथा अभिनेत्री रेखा थापाले नारीलाई शिक्षाका लागि, स्वास्थ्यका लागि विशेष जोड दिनुपर्ने बताइन् ।