जनकपुर, फागुन २६

नेपालको संघीय राजधानी काठमाण्डौबाट भारतहुँदै बंगलादेशको राजधानी ढाकासम्म पुग्ने व्यवस्था छिट्टै नै सुरु भएको छ ।

विभिन्न उपसमिति गठन गरेर आउँदो महिनामा तयारी सम्पन्न गर्न सकिएको अवस्थामा तीन देशका सरकारले सहमति पत्रमा हस्ताक्षर गरेर पाइलट परियोजना सुरु गर्न सकिनेमा भारतको राजधानी नयाँ दिल्लीमा यही सातामा सम्पन्न बैठकमा सहभागी भएका अधिकारीहरू भने सहमत भएका छन् ।

नेपालबाट बंगलादेशसम्म निर्बाध सवारीसाधन सञ्चालनका लागि तयार गरिएको मोटर भेहिकल एग्रिमेन्ट (एमभीए) अघि बढाउनका लागि समझदारी पत्र (एमओयू)मा सक्दो चाँडो हस्ताक्षर गर्ने इच्छा तीनै देशका सरकारले व्यक्त गरेको भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति मार्फत जनाएको छ ।

बीबीसीले जनाए अनुसार मोटर भेहिकल एग्रिमेन्टलाई सन् २०१४ मा काठमाण्डूको दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) बैठकमा एजेन्डाका रूपमा राखिएको थियो।त्यसपछि सन् २०१५ मा को जून महिनामा उक्त सम्झौता कार्यान्वयनमा ल्याउन एउटा सहमतिमा बाङ्ग्लादेश, भुटान, भारत र नेपालबीच (बीबीआईएन) हस्ताक्षर भएको थियो ।

बीबीआईएन एमभीएको अवधारणालाई भुटानबाहेक तीनै देशका संसद्ले स्वीकृति दिइसकेका छन् । तर
भुटानले भने प्रारम्भिक सहमति जनाएको भए पनि संसद्ले अनुमोदन नगरेपछि हाललाई सहमति कार्यान्वयनबाट आफूलाई अलग्याएको छ ।

भुटानले भविष्यमा उक्त सहमति कार्यान्वयनमा ल्याउने संकेत गरेको भएपनि आवश्यक प्रोटोकलहरू तयार पारिसकेको जनाएको छ ।

त्यसपछि केही चरण उक्त विषयबारे छलफल भएको भए पनि कोभिड महामारीका कारण त्यसपछिका थप कार्यहरू भने अघि बढ्न सकेका थिएनन्।’’अहिलेको कुरा तीन देश कसरी अघि जाने, एमभीए लागु गर्दा बिमाका कुरा, दुर्घटना भए कसरी समाधान गर्ने भन्ने कुरा अनि गाडी बिग्रिएको अवस्थामा प्रवेशाज्ञा वा ’ओभरस्टे’का कुराहरू हुन सक्छन् र रुट पर्मिट आदि कुराबारे यातायातको, अध्यागमनको उपसमिति बनाउने जस्ता प्राविधिक विषयमा छलफल भएको हो,’’ दिल्लीमा भएको वार्तामा नेपाली टोलीको नेतृत्व गरेका सहसचिव केशवकुमार शर्माले जानकारी दिए ।

सहसचिव केशवकुमार शर्माले भने, ‘यसलाई अब सबै सरकारले स्वीकृत गरेपछि अघि बढ्छ। संसद्बाट अनुमोदन भइसकेको छ। प्रोटोकलहरू चाहिँ उप समितिहरूको सिफारिसलाई राजनीतिक तहबाट, सरकारको तहबाट स्वीकृत भइसकेपछि सेवा सुरु गर्न थालौँ भन्न सकिन्छ ।’

उनले जनाए अनुसार सुरुमा हामी थोरै मोटरहरूबाट सुरु गर्न आगामी चार-पाँच महिनामै जान सकिन्छ ।

हाल तीन देशका अधिकारीहरूबीच प्यासेन्जर भेहिकल अर्थात् यात्रुवाहक सवारीसाधन सञ्चालनबारे छलफल भइरहेको बीबीसीलाई जनाएको छ । यो समाचार बीबीसीको सहयोगमा तयार पारिएको हो ।