जनकपुर, फागुन २७
नेपाल इन्जिनियर्स एसोसिएसनको नयाँ नेतृत्वका लागि मधेश प्रदेशको विभिन्न ठाउँमा निर्वाचन हुँदैछ । जारी रहेको निर्वाचनमा निकै चहलपहल र तडकभडक देखिएको छ ।
मधेश प्रदेशको जनकपुरधाम र वीरगंजमा निर्वाचन जारी रहेको निर्वाचन समितिले जनाएको छ । यस निर्वाचनमा राजनीतिक दलहरुले पनि निकै महत्वका साथ इन्जिनियरहरुको निर्वाचनमा भेटघाट गर्दै नेताहरु समेत लंविग गरिरहेका छन् ।
इन्जिनियरहरुको निर्वाचन आज विहान ९ बजेदेखि सुरु भएको मतदान बेलुकी ४ बजेसम्म चल्ने जनाइएको छ ।
गत वर्ष नै उम्मेदवारी परेपनि विभिन्न कारणवस ५ पटक स्थगित हुँदै आएको थियो ।
एसोसिएसनको ७ वटै प्रदेशका साथै केन्द्रिय कार्यकारिणी समितिका लागि नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादी निकटका नेपाल राष्ट्रिय इन्जिनियर संगठन, सोसलिस्ट इन्जिनियर एशोसिएसन नेपाल र नेपाल इन्जिनियरिंग समाज मिलेर एकीकृत प्रगतिशील इन्जिनियर समूह गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा छन् । भने लोकतान्त्रिक समाजवादी निकट राष्ट्रिय इन्जिनियर्स संघ र नेकपा एमाले निकट प्रोग्रेसिभ इन्जिनियरिंग एसोसिएसन नेपालले गठबन्धन गरेर चुनावी मैदानमा उत्रेका छन् । एमाले, लोसपाको गठबन्धनलाई सिके राउत नेतृत्वको जनमत पार्टी निकटका इन्जिनियरहरुको समेत साथ सहयोग रहेको छ ।
त्यस्तै नेपाली काँग्रेसको दुई वटा समूह बेग्ला बेग्लैरुपमा चुनावी मैदानमा रहेको छन् भने स्वतन्त्र समुहको नेतृत्वमा गरी करिब ५ वटा समुहहरु विभिन्न गठबन्धन बनाएर चुनावी मैदानमा छन् । सबै पक्षले आ–आफ्नो समुहको अवस्था राम्रो रहेको दावी गर्दै आएका छन् ।
मधेश प्रदेशको नेतृत्वका लागि एकीकृत प्रगतिशील इन्जिनियर समुहको तर्फबाट सभापतिमा राजेश यादव, मधेश प्रदेशको तर्फबाट केन्द्रिय सदस्यमा संजयकुमार यादव, मधेश प्रदेश उपसभापतिमा कार्तिकेश झा, सचिवमा रामनारायण यादव, सह सचिवमा राजिव साह, कोषाध्यक्षमा अञ्जुकुमारी यादव चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । मधेश प्रदेश उपसभापति पदका आकांंक्षी उम्मेदवार कार्तिकेश झाले जित सुनिश्चित रहेको दावी गरे ।
एकीकृत प्रगतिशील इन्जिनियर समुहको तर्फबाट सदस्यहरुमा रविकुमार पटेल, दयानन्द साह, विशालकुमार झा, सोनाली ठाकुर, जितेन्द्रकुमार यादव, प्रविणकुमार यादव, कुन्दन कुमार ठाकुर,अमितकुमार यादव, प्रदिपकुमार यादव र रोशनीकुमारी झा पनि चुनावी प्रतिस्पर्धामा छन् ।
एकीकृत प्रगतिशील इन्जिनियर समूहको तर्फबाट मधेश प्रदेशबाट केन्द्रिय सदस्यका उम्मेदवार रहेका संजयकुमार यादवले मधेश प्रदेशमा हाम्रो तर्फ इन्जिनियरहरुको रुझान रहेको अत्याधिक बहुमतले जित्ने दावी गरे ।