पोखरा, फागुन २७
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्रताको नाममा हामी बढी अनियन्त्रित र छाडापन भएको बताएका छन् ।
शुक्रबार पोखरामा प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सञ्चारमाध्यम देखि सामाजिक सञ्जालसम्ममा छाडापन देखिएको बताएका हुन् ।
उनले भने, ‘हामी आवश्यकता भन्दा बढी अनियन्त्रित र छाडा भएका छौँ । स्वतन्त्रताको सदुपयोग गर्न नसक्ने स्थिति देखिएको छ। आजको सञ्चार क्षेत्रले उपलब्धिलाई सही ढंगले सदुपयोग गर्न सक्नुपर्छ ।’
अध्यक्ष ओलीले नेपालमा शासकले प्रेस र सञ्चारलाई संगठित रुपमा प्रयोग गर्न नसकेको उल्लेख गर्दै देशमा प्रेस र प्रेस स्वतन्त्रताको इतिहास लामो नरहेको बताए ।
उनले राणाकाल र राजाको शासन हुँदासम्म प्रेस स्वतन्त्रता नफक्रिएको बताए । नेपाली काँग्रेसले भागेको राजा काँधमा बोकेर ल्याएको उल्लेख गर्दै उनले कहिले पनि उनले राजाको विरोध नगरेको उल्लेख गरे ।
उनले प्रेस स्वतन्त्रता भनेको स्वतन्त्रतासम्बन्धी मानवीय चेतनासँगको विषय रहेको बताए । उनले मानवजातिको विकास हुँदादेखि नै सञ्चार रहेको बताउँदै सञ्चारको रुप विकास हुँदै आधुनिकताको अहिलेको अवस्थामा आइपुगेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले राम राज्य आहा थियो भनिनु बेकार भएको बताएका छन् । राम राज्य आहा थियो भने के त्यहाँ इन्टरनेट थियो र भन्दै तर्क गरे । उनले अहिलेको अवस्थालाई सही ढंगले अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै सत्य युग र राम राज्य आहा थियो भनेर भ्रम पाल्न नहुने बताए ।
उनले पूर्वजहरुले मानवसभ्यताको विकासका लागि धेरै खोज, अध्ययन र चिन्तन मनन गरेको भन्दै त्यसमा भने अहिले पनि पाठ सिक्नुपर्नेमा जोड दिए ।
प्रेस चौतारी नेपालको पोखरामा शुक्रबारदेखि सुरु भएको राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछन् ।