जनकपुर, फागुन २७
धनुषा काँग्रेसको नयाँ नेतृत्वको लागि दोश्रो चरणको मतदान जारी रहेको छ ।
शुक्रवार बिहान ११ बजेदेखि सुरु भएको दोस्रो चरणको मतदान बेलुका ६ बजेसम्म चल्ने निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले जानकारी दिए ।
यसअघि भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेका थिएनन् ।
पहिलो चरणमा कुनै उम्मेदवार जित्न नसकेपछि दोस्रो चरणको मतदान बिहीबारको लागि तय गरिएपनि काँग्रेसको आन्तरिक समस्याको कारण निर्वाचन हुन सकेन । पछि उम्मेदवारहरुको सहमति र सहकार्यको निर्णय अनुसार आज निर्वाचन हुँदैछ ।
दोस्रो चरणको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवाको समूहबाट सन्तोष यादव र नेता विमलेन्द्र निधिको समूहबाट क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियार वीच कडा प्रतिस्पर्धा छ ।
शेखर कोइराला समूहका उम्मेदवार दिनेश प्रसाद यादव प्रसैलाले पहिलो चरणको निर्वाचनमा तेश्रो स्थानमा आएपछि उनको समुहले विमलेन्द्र निधिको समुहलाई समर्थन गरिसकेको छ ।
यता आफ्ना उम्मेदवार पजियारलाई जिताउनका लागि पूर्व गृहमन्त्री समेत रहेका निधि र मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलगायतका नेताहरु सक्रिय छन् ।