
जनकपुर, फागुन २७
संघ सरकारले धनुषाको धनुषाधाममा चिडियाखाना निर्माण गर्ने बताएका छन् ।
शुक्रबार धनुषाको धनुषाधाममा आयोजित एक कार्यक्रममा संघ सरकारका वन तथा वातावरण मन्त्री रामसहाय यादवले धनुषाधाममा प्राणी उद्यान (चिडियाखाना) निर्माण गरिने बताएका हुन् ।
वनस्पति अनुसन्धान केन्द्रको वनस्पति उद्यानको अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले मधेश प्रदेशको धार्मिक तथा ऐतिहासिक महत्वको धनुषाधाममा वनस्पतिसम्बन्धी अध्ययनको केन्द्र र प्राणी उद्यानको रुपमा विकास गरिने बताए ।
धनुषाधाममा प्राणी उद्यानको प्रवल सम्भावना रहेकाले त्यसको लागि सरकारले अध्ययन अनुसन्धानको कार्य अघि बढाइसकेको उनले बताए । वनस्पति, वन र चुरे एकअर्कालाई जोडिरहेको भन्दै उनले धनुषाधाममा प्राणी उद्यान स्थान भएको खण्डमा मधेश प्रदेशको आर्थिकका साथ साथै पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताए ।
मन्त्री यादवले अहिले रहेको वनस्पति अनुसन्धान केन्द्रलाई व्यवस्थित गर्दै वनस्पति सम्बन्धी अध्ययन गर्ने विद्यार्थीहरूको अध्ययन अनुसन्धान केन्द्रको रुपमा विस्तार गर्न संघीय सरकारले योजना बनाइरहेको बताए ।
वनस्पति अध्ययन केन्द्र संघीय सरकारको मातहत रहे पनि प्रदेश र स्थानीय तहसँग समन्वय गरेर त्यसलाई नेपालकै नमुनाको रुपमा विकास गर्न सकिने उनको भनाइ छ ।