जनकपुर, फागुन २७

नेपाली काँग्रेस धनुषाको नयाँ नेतृत्वका लागि भएको दोस्रो चरणको निर्वाचनमा २ हजार ८१४ मत खसेको छ ।

शुक्रबार जनकपुरधाम स्थित तिरहुतिया गाछी स्थित भएको मतदानमा कुल ३ हजार १७३ प्रतिनिधि मतदाता रहेकोमा ३५९ मत कम खसेको सहायक निर्वाचन अधिकृत रामगुलाम कर्णले जानकारी दिएका हुन् ।

धनुषा क्षेत्र नम्बर १ मा ८०१ मतदाता मध्ये ६७१, क्षेत्र नम्बर २ मा ८३० मध्ये ६९६, क्षेत्र नम्बर ३ मा कुल मतदाता ७१० मध्ये ६३४ र क्षेत्र नम्बर ४ मा कुल मतदाता ७०९ मध्ये ५७८ र अपांग समूहबाट २३५ मत खसेको उनले बताए ।

शुक्रबार सम्पन्न निर्वाचनको मतगणना आज राति ९ बजेदेखि सुरु गर्ने तयारी भइरहेको उनले बताए ।

यसअघि सोमबार भएको पहिलो चरणको निर्वाचनमा २ हजार ९१२ मत खसेको थियो ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको हो । पहिलो चरणको मतपरिणाममा सभापतिका उम्मेदवार योगेन्द्र पँजियार १ हजार २४८ मत ल्याउँदै अग्रस्थानमा थिए ।

दोश्रो चरणको निर्वाचन हुनु अघि नै शेखर कोइराला समुहका उम्मेदवार दिनेशप्रसाद यादव प्रसैलाले नेता विमलेन्द्र निधिको समुहका उम्मेदवार योगेन्द्र पजियारलाई समर्थन गरेको थियो । आज भएको दोश्रो चरणको निर्वाचनमा पँजियार र सन्तोष यादवबीच कडा प्रतिस्पर्धा भएको थियो ।

मतपरिणाम सार्वजनिक पछि को जित्ने स्पष्ट हुनेछ ।