वीरगञ्ज, फागुन २७

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल प्रभावशाली नेता शिव पटेल पनि नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

पर्साको बहुदरमाई नगरपालिकाको मेयर पदका प्रत्यासीसमेत रहेका नेता पटेल एमाले प्रवेश गर्न लागेका हुन् । पटेल बिहिबार काठमाडौँ पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्दै प्रवेशका लागि वातावरण तयार पारेको बताइएको छ ।

संविधानसभा सदस्य तथा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्तासँग काठमाण्डौँ पुगेर एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेका पटेलले आधिकारीक रुपमा आगामी चैत्र ८ गते एमाले प्रवेश गर्ने जनाइएको छ ।

फागुन २९ गते बहुदरमाईमा एउटा कार्यक्रम गरेर एमाले प्रवेश गर्न लागेको घोषणा गर्ने र चैत्र ८ गते वीरगञ्जमा केपी शर्मा ओलीको उपस्थितिमा हुने सभामा वीरगञ्जका मेयर विजयकुमार सरावगीलगायतका नेताहरुसँग पार्टी प्रवेश गर्न लागेको जनाइएको छ ।

मधेशवादी दल आफ्नो मूख्य एजेण्डा भुलेर स्वार्थको राजनीतिक गरेपछि आफूले पार्टी परित्याग गरेको पटेलले बताए । गत स्थानीय तहको निर्वाचनमा पटेल तत्कालिन राष्ट्रिय जनता दल (राजपा) बाट बहुदरमाई नगरपालिकाको मेयरका प्रत्यासी उम्मेदवार थिए ।

सद्भावना पार्टीसँग मिलेर बनेको राष्ट्रिय जनता दलको महासचिव समेत भइसकेका पटेल हाल लोसपासँग आबद्ध थिए ।

पर्सा जिल्लाका अधिकांशले महन्थ ठाकुरको साथ छाड्दै गएपछि लोसपा नेपाल कमजोर भएको टिप्पणी हुन थालेको छ ।

पर्सा क्षेत्र नम्बर २ मा लोसपा नेपालबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विमल प्रसाद श्रीवास्तवपनि एमाले जाने चर्चा चलिरहेको स्रोतको दावी छ ।