जनकपुर, फागुन २७
तेस्रो मधेश आन्दोलनपछि देशमा स्थानीय तहको निर्वाचन हुँदा मधेशवादी दलले कैयौँ स्थानीय तहमा जनतालाई विभिन्न लोभलालचमा पार्दै नेतृत्व हात पार्न सफल भयो । मधेश प्रदेशको राजधानी जनकपुरधाममा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट लालकिशोर साह नगरप्रमुखमा निर्वाचित भए । निर्वाचनताका नगर प्रमुख साहले नगरलाई फोहोरबाट मुक्ति दिलाउने, जनकपुरधाम नगर हराभरा बनाउने, जनकपुरधामलाई धार्मिक पर्यटकीय नगरी अनुसार मांस मदिरा मुक्त क्षेत्र बनाउनेलगायत विभिन्न नारा लगाउँदै मतदातासंग आफ्नो पक्षमा मत मागेको सो कुराहरु अझैपनि स्थानीयवासीकोको मानसपटलमा ताजा नै रहेको छ ।
तर निर्वाचित भएपछि जनकपुरधामका नगर प्रमुख लालकिशोर साहले मधेश आन्दोलनका सहिदहरुको सम्मानमा नगरको प्रवेशद्वारमा शहीद द्वारको निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सो अनुसार उनले आफ्नो कार्यकालको अन्तिम समयमा आएर शहिदद्वार निर्माण गरे ।
सो शहिदद्वार निर्माणसंगै नगरप्रमुख साहले गरेका अन्य प्रतिवद्धताहरु समेत पूरा गर्ने जनकपुरधामवासीलाई विश्वास थियो । तर नगरप्रमुख साहको कार्यकाल सकिनै लाग्दा शहीदद्वारको उद्घाटन एक भव्य कार्यक्रमका बिच गरिएको थियो ।
शहिदद्वारको उदघाटन भई रहँदा शहिद संजय चौधरीका आमा, शहिद नितु यादवका पिता श्रीनारायण यादव र शहिद दिलीप यादवका पिता रामनरेश यादवको समेत उपस्थिति रहेको थियो ।
२०७७ असार २१ गते शिलान्यास गरिएको सहिदद्वार निर्माणको कार्य १ वर्ष ९ महिना नबित्दै पूरा गरिएको छ । डेढ वर्षभित्रै काम सक्ने गरी काठमाण्डौंको गौरीपार्वती निर्माण कम्पनीलाई सो सहिदद्वार निर्माणको ठेक्का दिइएको थियो ।
३१ फिट अग्लो सो सहिदद्वारको माथिल्लो भागमा धनुष तानेको भगवान रामको प्रतिमा स्थापित गरिएको छ । मधेस आन्दोलनको क्रममा सहादत प्राप्त गरेका धनुषाका तीन सहिदहरूको स्मृतिमा निर्माण गरिएको सो प्रवेशद्वारमा सहिदहरु नितु यादव, दिलीप यादव र सञ्जय चौधरीको प्रतिमा समेत राखिएको छ । सहिददद्वारको पूर्वपट्टि सडकछेउमै तीनैजना सहिदहरुको अन्त्येष्टि गरिएको स्थल पनि हो ।
तर शहिदहरुको नाममा बनाइएको सो शहिदद्वारको नाममा व्यापक अनियमितता भएको पुष्टि भईसकेको छ ।
केही महिना अघि महालेखा परीक्षकको प्रतिवेदनले समेत जनकपुरधाम उपमहानगरपालिकाको सहिद गेट निर्माणको टेण्डर प्रकृयामै अनियमितता भएको प्रतिवेदन सार्वजनिक भएको थियो ।
शहिदद्वारा निर्माणका लागि २०७६ साल माघ १० गते पहिलो पटक ३० दिने सूचना सहित टेण्डर आह्वान गरिएको थियो । जसमा रविन्द्र कन्स्ट्रक्सन प्रालिको प्रस्ताव मात्रै परेको थियो । यद्यपि अनुभव सम्बन्धि कागजात नक्कली सावित भएपछि ठेक्का अस्वीकृत गरिएको थियो । त्यसपछि २०७६ फागुन १८ गते १५ दिने सूचना फेरि आह्वान गरियो, जसमा गौरी पार्वती जेभीको प्रस्ताव परेको थियो ।
४ करोड २८ लाख ७० हजार ४ सय ६२ रुपैयाँ अनुमानित लागत गरिएकोमा १.०५ प्रतिशत मात्रै घटीमा अर्थात ४ करोड ८ लाख ८ हजार ५३ रुपैयाँमा प्रस्ताव स्वीकृत गरिएकोले बिना प्रतिस्पर्धा प्रस्तावकर्तालाई ठेक्का उपलब्ध गराइएको पाइएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ ।
२०७७ साल असार २१ गते शिलान्यास गरिएको सो सहिदद्वारा निर्माणमा आर्थिक वर्ष २०७६–०७७मा ४४ लाख ७७ हजार ७ सय २, आर्थिक वर्ष २०७७–०७८ मा २ करोड बजेट छुट्याइएको थियो भने बाँकी रकम चालु आर्थिक वर्षमा छुट्याइएको थियो ।
यता जनकपुुरधाम उपमहानगरपालिकाका प्रत्यासी उम्मेदवार समेत रहेका नेपाली काँग्रेसको नगर सभापति मनोज साहले शहिदहरुको सम्मान हुनु राम्रो रहेपनि स्थानीय तहको निर्वाचनको मुखमा आउर कार्यक्रम गर्नु चुनावी फण्डा रहेको टिप्पणी गरे ।
उनले विगत चार वर्षमा जनकपुरधाम उपमहानगरले नगरको फोहोर व्यवस्थापन, खानेपानी पाइपलाईनको व्यवस्थापन नगरेर नजिकिदै गईरहेको स्थानीय तह निर्वाचनमा आफूले यो एउटा काम गरेको देखाउनका लागि मात्रै निर्माण गरिएको आरोप लगाए ।
उनले कमिशनकै लागि नगरप्रमुख साहले सहिदद्वार निर्माण गराउन लगाएको आरोप समेत लगाए ।