यादववादको गुटलाई तोड्न सफल भएको भन्दै काँग्रेसीजनमा टिकाटिप्पणी
जनकपुर, फागुन २८
धनुषा काँग्रेसको सभापतिमा पूर्व उपसभापति विमलेन्द्र निधि समुहका उम्मेदवार योगेन्द्र पँजियार निर्वाचित भएका छन् ।
शुक्रबार भएको दोस्रो चरणको मतदानमा संस्थापन पक्षका उम्मेदवार सन्तोष यादवलाई ६८९ मतान्तरले पराजित गर्दै पँजियार धनुषा जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।
दोस्रो चरणको मतदानमा २ हजार ८१४ मत मतदान भएको थियो । दोश्रो चरणको मतदानमा योगेन्द्रले १ हजार ७३५ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी सन्तोषले १ हजार ४६ मत प्राप्त गरेका थिए । त्यस्तै ३३ मत बदर भएको निर्वाचन निर्वाचन समितिका अधिकृत अरुण कुमार ज्ञवालीले जानकारी दिए ।
धनुषा क्षेत्र नम्बर १ मा ८०१ मतदाता मध्ये ६७१, क्षेत्र नम्बर २ मा ८३० मध्ये ६९६, क्षेत्र नम्बर ३ मा ७१० मध्ये ६३४, क्षेत्र नम्बर ४ मा ७०९ मध्ये ५७८ र अपांग समूहबाट २३५ मत खसेको थियो ।
पहिलो चरणको निर्वाचनबाट ५१ प्रतिशत मत प्राप्त नगर्दा योगेन्द्रले बहुमत ल्याएपनि जित्न सकेका थिएनन् । कुल ३ हजार १७३ मतदातामध्ये पहिलो चरणको निर्वाचनमा २ हजार ९१२ जनाले मतदान भएको थियो ।
पहिलो चरणको निर्वाचनबाट योगेन्द्रले १ हजार २४८ मत प्राप्त गरेका थिए भने सन्तोषले ८८२ र दिनेश प्रसाद प्रसैलाले ६३० मत प्राप्त गरेका थिए । त्यस्तै १५१ वटा मत बदर भएको थियो ।
दोस्रो चरणको निर्वाचनमा योगेन्द्रलाई शेखर कोइराला समुहका उम्मेदवार दिनेशप्रसाद यादव प्रसैलाले समर्थन गरेपछि पूर्व उपसभापति विमलेन्द्र निधिका उम्मेदवार योगेन्द्र निर्वाचित भएका हुन् ।
योगेन्द्र निर्वाचित भएपछि उनी नेता विमलेन्द्र निधिको निजि निवासमा आशिर्वाद थाप्न मध्यरातमै पुगेका थिए । उनको जितसंगै निधि समुहका नेता तथा कार्यकर्तामा व्यापक खुसीयाली छाएको छ । धनुषा काँग्रेस भित्र रहेको विमलेन्द्र निधिले यादववादको गुटलाई तोड्न सफल भएको भन्दै काँग्रेसीजनमा टिकाटिप्पणी समेत हुन थालेको छ ।
धनुषाको क्षेत्र नम्बर १ बाट योगेन्द्र पँजियारले ३०५, सन्तोष यादवले ३५५, बदर मत ११ वटा, क्षेत्र नम्बर २ बाट योगेन्द्र पँजियारलाई ः ४६६, सन्तोष यादवलाई २२२ र बदर मत ८ वटा, क्षेत्र नम्बर ३ बाट योगेन्द्र पँजियारलाई ५२२, सन्तोष यादवलाई १०४ र बदर मत ७ वटा, क्षेत्र नम्बर ४ बाट योगेन्द्र पँजियारलाई ३०२, सन्तोष यादवलाई २७२ र बदर मत ५ वटा भएको थियो भने अशक्त अपाङ्ग समूहतर्फबाट योगेन्द्र पँजियारले १४०, सन्तोष यादवले ९३ तथा बदर मत २ वटा मत प्राप्त भएको निर्वाचन समितिले जनाएको छ ।