जनकपुर, फागुन २८
नेपाली कांग्रेसको धनुषा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पूर्व उपभासपति निधि समूहका उम्मेदवार विजयी भएका छन् ।
धनुषा काँग्रेस जुंगाको लडाई भएको थियो । पूर्वउपसभापति निधिको गृहनगर समेत रहेको धनुषा जिल्लाबाट उम्मेबार बनेका योगेन्द्र पँजियार विजयी हुन सफल भएका हुन् ।
देउवा समूहका उम्मेदवार सन्तोष यादव र कोइराला समूहका उम्मेदवार दिनेशप्रसाद यादव प्रसैलालाई मात दिँदै धनुषा काँग्रेसको सभापतिमा निर्वाचित हुन सफल भए ।
गत शुक्रबार भएको दोस्रो चरणको मतदानमा संस्थापन पक्षका उम्मेदवार सन्तोष यादवलाई ६ सय ८९ मतान्तरले पराजित गर्दै पँजियार निर्वाचित भए ।
दोस्रो चरणको मतदानमा २ हजार ८१४ मत खसेको थियो भने योगेन्द्रले १ हजार ७३५ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी सन्तोषले १ हजार ४६ मत प्राप्त गरे । भने ३३ मत बदर समेत भयो ।
यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका तीन उम्मेदवारमध्ये सबैभन्दा बढी मत पँजियारले नै ल्याएका थिए । तरपनि उनको पक्षमा ५१ प्रतिशत मत नल्याउँदा दोस्रो चरणको निर्वाचन भयो ।
पहिलो चरणको निर्वाचनमा कुल ३ हजार १सय ७३ मतदातामध्ये २ हजार ९सय १२ जनाले मतदान भएको थियो । पँजियारले १ हजार २ सय ४८ मत पाएका थिए भने संतोषले ८ सय ८२ र दिनेश प्रसाद प्रसैलाले ६ सय ३० मत प्राप्त गरे । भने १५१ मत बदर भएको थियो ।
योगेन्द्र पँजियार कांग्रेस धनुषाको सभापतिमा निर्वाचित भएसंगै यसलाई नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिको साख जोगिएको भन्नेहरु पनि छन् । पँजियारलाई निर्वाचित गराउनका लागि नेता निधि स्वयं उनको पक्षमा कम्मर कसेर लागि परेका थिए । निर्वाचन अघि नेता निधि समूहको उम्मेदवारलाई कमजोर प्रतिस्पर्धी रहेको भनेर काँग्रेसको अर्का खेमाले आँकलन गर्दे आएको थियो ।
कांग्रेसको १४औँ महाधिवेशनमा नेता निधिले पाएको मत, नेपाली कांग्रेस मधेश प्रदेशको नेता निधि समूहका उम्मेदवारले नराम्ररी पराजय व्यहोर्नु परेको थियो ।
तर जेजति भनेर विश्लेषण गरिएपनि पँजियार निर्वाचित भएसंगै सबै विश्लेषण र आरोपहरु स्वतः किनारा लागेको छ ।
गृहजिल्ला धनुषामा नेता निधि समूहले पाएको जीतसंगै सो समूहका नेता तथा कार्यकर्ताहरुको मनोबल उच्च भएको टिकाटिप्पणी हुन थालेको छ ।
निधिको पहलमा कोइराला समूहको साथ
नेपाली कांग्रेसको विधान अनुसार पँजियारले पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत ल्याएपनि ५१ प्रतिशत मत ल्याउन नसक्दा निर्वाचन दोस्रो चरणमा भयो ।
तर तेश्रो स्थान ल्याएका कोइराला समूहका उम्मेदवार दिनेश प्रसैलाको साथ भने दोस्रो चरणको निर्वाचनमा नेता निधि समुहलाई रह्यो ।
कोइराला समूह दोस्रो चरणको निर्वाचन गर्नुभन्दा सहमतिमै नेतृत्व चयन गर्नका लागि निधिका साथै देउवा समूहका नेताहरुसंग छलफल समेत गरेको थियो । तर सर्वसम्मतीका लागि देउवा समुह तयार नहुँदा त्यसो हुन सकेन ।
कोइराला समूहबाट नेताहरु रामकृष्ण यादव, डा. चन्द्रमोहन यादव, देउवा समूहबाट पार्टीका सहमहामन्त्री महेन्द्र यादव, आनन्द ढुंगाना र निधि समूहबाट नेता विमलेन्द्र निधि स्वयं र रामसरोज यादवलगायतका नेताहरु छलफलमा सहभागी भएपछि पँजियारको जित सुनिश्चित भयो ।