वीरगञ्ज, फागुन २८
जनता समाजवादी पार्टी नपालबाट निर्वाचित वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
शनिबार वीरगञ्जमा भव्य कार्यक्रम वीच एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीकाटालो तथा माला लगाएर सरावगी एमालेमा प्रवेश गरेका हुन् ।
बाराको प्रसौनीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले मेयर सरावगीलाई पार्टीमा प्रवेश गराउँदै भव्य स्वागत गरेका थिए ।
०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट वीरगञ्ज महानगरको मेयरमा निर्वाचित सरावगी जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य हुन् ।
उद्योगी समेत रहेका मेयर सरावगीले ०७३ चैत ६ गते तत्कालीन संघीय समाजवादी फोरममा प्रवेश गर्दै राजनीति यात्रा थालेका थिए ।
२०७४ को स्थानीय तहमा सरावगी १९ हजार ३ सय ९३ मत ल्याएर निर्वाचित भएका थिए । मेयरमा निर्वाचित भएको दुई वर्ष नबित्दै सरावगीलाई पार्टी भित्रैबाट असहयोग हुन थालेको भन्दै गुनासो पोख्दै आएपनि जसपाले भने वास्ता गरेनन् ।
पछिल्लो समय आगामी बैशाखमा स्थानीय तहको निर्वाचन हुने चर्चा सुरु भएलगत्तै डेढ दुई महिनायता देखि सरावगीले जसपा छाडेर अर्को दलबाट मेयरमा चुनाव लड्ने हल्ला चलेको थियो ।
एमाले गरेका नवप्रवेशी मेयर सरावगीले जसपामा अहिलेपनि जातिवाद हावी रहेको कारण राम्रो मान्छे त्यो पार्टीमा टिक्न नसक्ने बताए । उनले भने, ‘जसपाबाट मैले छोड्ने धेरै कारणहरु छन् । त्यो सबैलाई थाहा छ, आम जनतालाई थाहा छ, एउटा राम्रो मान्छेलाई पार्टीले टिकाएर राख्न सकेन” उनले भने, ‘अहिले पनि जातिवादकै राजनीति भइरहेको छ । जातिवादको राजनीति गरेर राष्ट्रिय पार्टी हुन सकिदैन ।’
उनले भने आफू झन्डै कांग्रेसमा प्रवेश गरेको तर पूर्वमन्त्री मोतिलाल दुगडले आफूलाई बीचबाट केपी ओलीसँग भेट गराउन लागेपछि एमाले प्रवेश गरेको बताए ।
यस कार्यक्रममा नेकपा माओवादी केन्द्रका वीरगन्ज महानगर इन्चार्ज बाबुराम कौशीक, वाइसिएलका केन्द्रीय सदस्य ओम प्रकाश गुप्तालगायतका पनि एमालेमा प्रवेश गरेका छन् ।