जनकपुर, फागुन २९
धनुषाको सिमावर्ती क्षेत्र मुखियापट्टी मुसहरनीया स्थित पर्ने नेपाल–भारतको सिमानाका जमुनी नदीको वहाब क्षेत्र परिवर्तन हुँदा नेपाली किसानको खेती योग्य जग्गा भारतीयले कब्जा गरेको स्थानीय किसानहरुले आरोप लगाएका छन् ।
खेतमा लहैलहै गहुँको बाल लहलहाउँदै गरेको गहँु घरमा भित्र्याउने योजनामा रहेका किसानहरु भने चिन्तित बनेका छन् । खेती किसानी गर्ने किसानहरुको लागि खेत नै सवै थोक हो । खेतकै आम्दानीले वर्षभरि आवश्यकता टार्ने (शिक्षा, स्वास्थ्य, औषधी उपचार) को साथै जीविकोपार्जन गर्न किसानहरु दैनिक खेतमै विताउने गर्दछन् ।
तर धनुषाको मुखियापटटी मुसहर्निया गाउँपालिका वडा नम्बर २ बस्ने ६० वर्षका किसान जिवछ यादव खेतमा लगाइएको गहुँ लहलहाउँदै गरेको देख्दा निकै चिन्तित छन् । गँहभरि आखाँमा आशु बोकेका जिवछ यादवसंग तत्कालिन श्री ५ को सरकार भुमि सुधार कृषि तथा खाद्य मन्त्रालयबाट जारी भएको जग्गा धनी नेपाली लालपुर्जाको प्रमाणपत्र छ । जग्गाधनी लालपुर्जा देखाउँदै किसान जिवछ यादवले २० जना सदस्य भएको घरपरिवार चलाउने यो खेतकै मुख्य आम्दानीको श्रोत रहेको तर अहिले जोतभोग गर्न नपाएकोले निकै समस्या भई रहेकाले दैनिक मजदुरी गरेर घर परिवार चलाउनुपर्ने बाध्यता भएको बताए ।
त्यस्तै मुखियापटर्टी मुसहर्निया वडा नम्बर २ स्थित नेपाल भारतको दशगज्जा क्षेत्र रहेको जमुनी नदी पारि जिवछ यादवको एक विगहा जग्गा छ । हातमा लालपुर्जा छ, वार्षिक रुपमा नेपाल सरकारलाई जग्गाको कर समेत तिर्दै आएको छ, तर जोतभोग भने गर्न पाएका छैनन् । १५ वर्ष पहिले निर्वाध रुपमा वार्षिक धान, दाल, तरकारी, गहुँ उब्जाउँदै आएको खेतसंगै टासिएको जमिन नदिले आफनो वहाव क्षेत्र परिवर्तन भएको मुखियापटटी मुसहर्निया वडा नम्बर २ का वडाअध्यक्ष नरेश प्रसाद यादवले बताउनुभयो । वडाध्यक्ष यादवका अनुसार जमुनी नदीमा आएको बाढीले वहाव क्षेत्र नै परिवर्तन भएपछि जमुनी नदी वारि नेपालतर्फ भएको जिवछ यादव, भिखारी यादवलगायत १० जना जतिको करिव १५ विगहा जग्गा जमुनी नदिको पारि अर्थात भारतीय पक्ष तर्फ पर्दछ ।
नदीले वहाव क्षेत्र परिवर्तन गर्दा जमुनी नदिको पारि भारततर्फ भएको करिव २५ विगहा जग्गा जमुनी नदिको वारी नेपालतर्फ आएको देखिन्छ । नदीले वहाव क्षेत्र परिवर्तन गर्दा समेत नेपाल भारतको सिमा स्तम्भ संकेत नम्बर २८९ का विभिन्न पिलरहरु जमुनी नदिको पुरानै वहाव क्षेत्र अनुसार गाँडिएपछि जिवछ यादवलगायतहरुले आफनो खेत उपभोग गर्न नदि तरेर जानुपर्ने बाध्यता छ, तर भारतीय पक्षले भने जिवछ यादव, भिखारी यादवलगायतको जग्गा कब्जा गरेर जवरजस्ती उब्जाउने गरेकाले जिवछ यादव खेतविहिन हुन पुगेको बताए ।
खेतमा नेपाल भारतको सिमास्तम्भ पनि छ, सिमा स्तम्भको पारि भारत र वारि नेपालको भुमि हो, तर नेपाली किसानहरुले आफनो खेत जोतभोग गर्न नपाएर निकै समस्यामा रहेको स्थानिय नेतृ मञ्जु यादवले बताइन् ।
वर्षौ पहिले जमुनी नदीको वहाव क्षेत्र परिवर्तन भएपछि नदी पारि नेपाली भुमि गएको देखिन्छ, सिमास्तम्भ पनि गाडिएको छ । तर नेपाली किसानहरुले आफनो खेत जोग भोग गर्न पाएका छैनन् । नेपाली किसानहरुले आफ्नो खेतमा जाँदा भारतीय एसएसबी र स्थानीय भारतीयहरुले अवरोध खडा गर्दै आएका छन् ।